

नारायणगढ, भदौ १२ गते । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले बगाएर बेपत्ता भएकाहरूमध्ये चितवनका त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको सङ्ख्या १७८ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फिस्लिङदेखि मेघौलीको गोलाघाटसम्मको क्षेत्रमा भेटिएका शवहरूमा ४१ महिला, ७४ पुरुष, छ बालक, दुई बालिका र पहिचान नखुलेका ५५ जना रहेका छन्।
भेटिएका शवहरूको शुक्रबारदेखि पहिचान गरी परिवारलाई बुझाउने तयारी गरिएको छ। प्रहरीले सबै शवको फोटो तयार पारेको छ र सोही फोटोका आधारमा सनाखत भएपछि सम्बन्धित परिवारलाई शव हस्तान्तरण गरिने प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो।
लगातार शव भेटिन थालेपछि पहिचानमा सहज होस् भन्ने उद्देश्यले भरतपुरस्थित औद्योगिक विकास प्रतिष्ठानको भवनमा शव पहिचान कक्ष स्थापना गरिएको छ। भरतपुर महानगरपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा स्थापित यस केन्द्रमा एकपटकमा २५० वटासम्म शव राख्न सकिने र शव भेटिने क्रम अझै जारी रहेकाले व्यवस्थापनलाई चुस्त बनाउन काम भइरहेको प्रहरीले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































