08/28/2026, 09:02:26
शुक्रबार, भदौ १२, २०८३

प्राकृतिक विपद्का कारण सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन


काठमाडौँ, भदौ १२ गते । शिक्षा तथा खेलकुद मन्त्रालयले देशमा आएको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै सबै तहका परीक्षाहरू तत्कालका लागि स्थगित गर्न विश्वविद्यालयहरू तथा मातहतका निकायलाई निर्देशन दिएको छ।

विभिन्न विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय ऐनको विशेष अधिकार प्रयोग गर्दै भदौ १३ गतेदेखि सञ्चालन हुने सम्पूर्ण परीक्षाहरू स्थगित गर्न निर्देशन दिनुभएको हो। साथै, भदौ १२ गतेका परीक्षामा सहभागी हुन नसकेका परीक्षार्थीहरूका लागि उपयुक्त समयमा पुन: परीक्षाको व्यवस्था मिलाउन भनिएको छ।

मन्त्रालयको निर्देशन अनुसार स्थगित परीक्षाहरूको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गरिनेछ भने अत्यावश्यक बाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रमहरू पूर्ण रूपमा स्थगित गर्न आग्रह गरिएको छ। यसका साथै, विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकहरूसँग शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय तथा आवश्यक सहयोग र सहजीकरण गर्न पनि निर्देशनमा स्पष्ट पारिएको छ।

विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राखी प्रभावित विद्यार्थी तथा आवश्यकता अनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न मन्त्री पोखरेलले सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै सम्पूर्ण निर्णयहरू तत्काल कार्यान्वयन गराउन तथा विद्यार्थी, अभिभावक, शिक्षक एवम् कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिन मन्त्री पोखरेलले अनुरोध गर्नुभएको छ।