

काठमाडौँ, भदौ ११ गते । नेपाल र तिब्बत क्षेत्रमा रहेका १०० भन्दा बढी हिमतालहरू फुट्ने उच्च जोखिममा रहेको विज्ञहरूले बताएका छन्।
चाइनिज एकेडेमी अफ साइन्सेजबाट हिमताल विषयमा विद्यावारिधि गर्नुभएका वैज्ञानिक डा. नितेश खड्काका अनुसार विश्वव्यापी रूपमा बढ्दै गएको तापक्रमका कारण हिउँ पग्लिने र नयाँ हिमताल बन्ने क्रम तीव्र भएकाले जोखिम बढेको हो। नेपालमा मात्रै २,३०० भन्दा बढी हिमताल रहेको र गेग्रानको सतहमा बन्ने यस्ता तालहरू जुनसुकै बेला फुट्न सक्ने खतरा रहन्छ।
नेपालका अधिकांश ठूला नदीहरू जस्तै अरुण, दूधकोशी, तामाकोशी, भोटेकोशी, बूढीगण्डकी, मर्स्याङ्दी र हुम्ला कर्णालीको मुहान तिब्बतमा रहेकाले तिब्बततर्फका हिमताल फुट्दा नेपालमा प्रत्यक्ष ठूलो क्षति पुग्ने गर्छ। यसअघि सन् २०२० मा इसिमोड र यूएनडीपीले गरेको अध्ययनले नेपालका २१ र समग्र हिन्दकुश हिमालय क्षेत्रका ४७ हिमताल जोखिममा रहेको देखाए पनि पछिल्लो समय यो सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।
जलवायु विज्ञ डा. अरुणभक्त श्रेष्ठ र प्रा.डा. रिजनभक्त श्रेष्ठका अनुसार इम्जा र च्छो रोल्पा हिमतालको जलसतह घटाएर जोखिम न्यूनीकरण गरिएजस्तै अन्य हिमतालहरूमा पनि चरणबद्ध रूपमा काम गर्नुपर्ने आवश्यकता छ। सम्भावित ठूलो जनधनको क्षति रोक्नका लागि जोखिमयुक्त हिमतालहरूको सूक्ष्म अध्ययन गर्ने, पानीको निकास गराउने र तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली (Early Warning System) को तत्काल विकास र विस्तार गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!























