काठमाडौँ, फागुन २० गते । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ क्षेत्र नं. २ मा खटिएका एक मतदान अधिकृतलाई पदबाट हटाइएको छ। निर्वाचन आचारसंहिता तथा निष्पक्षताको मापदण्डसँग असंगत गतिविधि देखिएको निष्कर्षपछि उक्त निर्णय गरिएको सम्बन्धित कार्यालयले जनाएको छ।
गलकोट नगरपालिका–१०स्थित रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा जिम्मेवारी तोकिएका प्रकाश गैरेलाई कार्यमुक्त गरिएको हो। उनी ढोरपाटन नगरपालिकाका प्रशासकीय अधिकृतसमेत हुन्।
भीम प्रसाद सुवेदीका अनुसार मतदान अधिकृतहरूको आन्तरिक सञ्जाल (व्हाट्सएप समूह)मा गैरेद्वारा व्यक्त गरिएका केही धारणा तथा संलग्न गतिविधिले निर्वाचनको स्वच्छता, तटस्थता र विश्वसनीयतामा प्रतिकूल प्रभाव पार्न सक्ने आकलन गरिएको थियो। निर्वाचन अधिकृतको हैसियतअनुसार अपेक्षित मर्यादा विपरीत क्रियाकलाप देखिएकाले जिम्मेवारीबाट हटाउने निर्णय लिइएको उनले स्पष्ट पारे।
हटाइएका अधिकृतलाई आफ्नो जिम्मामा रहेका मतपत्र तथा अन्य निर्वाचन सामग्री तत्कालै सुरक्षा निकायमार्फत बुझाउन र निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ। उक्त निर्णयबारे निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय तथा सम्बन्धित अन्य निकायलाई औपचारिक जानकारी गराइएको जनाइएको छ।
सोही मतदान केन्द्रमा अब भुवन बहादुर कुँवरलाई मतदान अधिकृतका रूपमा खटाइएको कार्यालयले पुष्टि गरेको छ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!
