काठमाडौँ, असोज १९ गते । सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँचवटा महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्नुभएको हो।
बैठकले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यसका साथै सरकारले नेपाल इन्जिनियरिङ सेवा, गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमावली स्वीकृत गरेको छ भने वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ लाई समेत स्वीकृत गरेको छ।
त्यस्तै, जेन-जी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्ने/नगर्ने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेस गरेको प्रतिवेदनलाई आवश्यक कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय भएको छ।
यसैगरी मन्त्रीपरिषद् बैठकले सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहकीरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।
मन्त्रीपरिषद्का प्रमुख निर्णयहरू
| निर्णय क्र.सं. | प्रमुख निर्णय तथा विषयवस्तु (Key Decisions) |
| १ | नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणका लागि नर्वे सरकारको १० करोड रुपियाँ अनुदान स्वीकार |
| २ | नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) दोस्रो संशोधन नियमावली स्वीकृत |
| ३ | वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत |
| ४ | जेनजी आन्दोलन मुद्दा छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय |
| ५ | सहसचिव पद्मकुमार मैनाली सचिव पदमा बढुवा भई पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








