काठमाडौँ, असोज २० गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ । बन्द सत्रमा पार्टीका विभिन्न राजनीतिक, सांगठनिक तथा आर्थिक दस्तावेजमाथि महाधिवेशन प्रतिनिधिहरूले व्यापक छलफल गरेका छन् ।
महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यका अनुसार बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गर्नुभएको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव’, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको हो ।
छलफलमा सातै प्रदेशका महाधिवेशन प्रतिनिधिका साथै पार्टीका विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए ।
तेस्रो दिनको बन्द सत्रको छलफल बुधबार बिहान १०ः३० बजे पुनः सुरु हुने कार्यक्रम छ । भोलिको सत्रको प्रारम्भमा पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
विश्वप्रकाशद्वारा वरिष्ठ उपसभापतिमा उम्मेदवारी
यसैबीच कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
कांग्रेसको १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापति पद पहिलोपटक थप गरिएको हो । पार्टीको नयाँ संरचनाअनुसार यो पद सभापतिपछिको वरीयतामा रहने व्यवस्था गरिएको छ ।
कांग्रेसको १५औँ महाधिवेशन तीन दिनदेखि जारी छ । महाधिवेशनअन्तर्गत आज साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।
महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको राजनीतिक दिशा, संगठन सुदृढीकरण, राजनीतिक संस्कृतिको रूपान्तरण तथा आर्थिक व्यवस्थापनसम्बन्धी प्रस्तावमाथि प्रतिनिधिहरूको छलफललाई पनि महत्त्वका साथ अघि बढाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







