काठमाडौँ, असोज २० गते । यस वर्षको दसैँमा काठमाडौँ उपत्यकाबाट घर जाने यात्रुका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलासहित यातायात क्षेत्रका सरोकारवालासँग भएको छलफलपछि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले दसैँमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार दसैँका समयमा काठमाडौँबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप अत्यधिक बढ्ने भएकाले अग्रिम टिकट बुकिङ, सार्वजनिक सवारीसाधनको व्यवस्थापन, यात्रु सेवा तथा सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखेर तयारी भइरहेको छ ।
यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन सम्बन्धित सरकारी निकाय, यातायात व्यवसायी तथा सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको महानिर्देशक पोखरेलले बताउनुभयो । यात्रुको चापलाई ध्यानमा राखेर यातायात सेवा व्यवस्थित र सुरक्षित बनाउन आवश्यक व्यवस्था मिलाइने उहाँको भनाइ छ ।
टिकट बुकिङबारे व्यवसायीसँग छलफल
दसैँका लागि अग्रिम टिकट बुकिङका सम्बन्धमा यातायात व्यवस्था विभागले मंगलबार यातायात व्यवसायी तथा अन्य सरोकारवालासँग छलफल गरेको हो । यसअघि अग्रिम टिकट बुकिङ नखुल्दा काठमाडौँबाट बाहिर जाने यात्रुमा अन्योल देखिएको थियो ।
यद्यपि केही यातायात कम्पनीले अनलाइनमार्फत टिकट बुकिङ सुरु गरिसकेका कारण सर्वसाधारणमा थप अन्योल उत्पन्न भएको थियो । चाडपर्वका बेला टिकट नपाउने, बसपार्कमा लामो समय लाइन बस्नुपर्ने तथा सवारीसाधनको अभाव हुने समस्या दोहोरिन नदिन विभागले सरोकारवालासँग छलफल अघि बढाएको हो ।
बैठकमा प्रहरी प्रधान कार्यालय राजमार्ग तथा सुरक्षा महाशाखा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, नेपाल ट्रक यातायात व्यवसायी संघ र ल्होत्से बहुउद्देश्यीय सहकारी संघका प्रतिनिधिलाई सहभागी गराइएको थियो ।
यस वर्षको दसैँ अवधिभर १० लाखभन्दा बढी यात्रुले काठमाडौँ उपत्यका छाड्ने अनुमान गरिएको छ । ठूलो सङ्ख्यामा यात्रु बाहिरिने भएकाले बसको उपलब्धता, टिकट वितरण, सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा यात्रुको सहज आवागमनका लागि विशेष तयारी गर्नुपर्ने अवस्था रहेको विभागले जनाएको छ ।
भारतबाट फर्किने नेपालीका लागि सीमा नाकामा सहायता कक्ष
यसैबीच, दसैँ, तिहार तथा छठ पर्व मनाउन भारतबाट ठूलो सङ्ख्यामा नेपाली घर फर्किन थालेसँगै नेपाल–भारत सीमा नाकामा संयुक्त यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
चाडपर्वका बेला स्वदेश फर्किने नेपाली यात्रुले सीमा नाकादेखि आफ्नो गन्तव्यसम्म पुग्दा ठगी, लुटपाट, यातायातको समस्या तथा अन्य असहजता भोग्न नपरोस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा सञ्चालन गरिएको सहायता कक्षमार्फत भारतबाट फर्किने यात्रुलाई आवश्यक सूचना, सुरक्षा तथा यातायातसम्बन्धी सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
विशेषगरी बाँकेमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको छ । भारतबाट घर फर्किने नेपालीको सुरक्षालाई प्राथमिकतामा राख्दै सम्भावित जोखिमयुक्त क्षेत्रमा सुरक्षा निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
चाडपर्वका समयमा सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुको चाप बढ्ने भएकाले यात्रुको सुरक्षा, सहज आवागमन र सम्भावित आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
दसैँमा काठमाडौँबाट बाहिरिने र भारतबाट स्वदेश फर्किने नेपालीको ठूलो चापलाई ध्यानमा राख्दै टिकट व्यवस्थापनदेखि सीमा नाकासम्म यात्रुको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न सरकारी तथा सुरक्षा निकायले तयारी तीव्र बनाएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






