09/29/2026, 17:04:41
मङ्गलबार, असोज १३, २०८३

बाढी–पहिरोले मध्यपहाडी लोकमार्ग अस्तव्यस्त, बिरामीदेखि यात्रुसम्म सास्ती


गण्डकी, असोज १३ गते । कालीगण्डकी नदीमा आएको बाढी तथा विभिन्न स्थानमा गएको पहिरो र सडक कटानका कारण मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–पर्वत खण्डमा यातायात सेवा प्रभावित बनेको छ। सडक तथा पुलमा क्षति पुगेपछि बागलुङ, पर्वत हुँदै पोखरा तथा अन्य गन्तव्यतर्फ जाने यात्रुले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता भएको छ।

बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीकी छममाया बुढाथोकी नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुग्नुपर्ने थियो। तर बागलुङ र पर्वतका विभिन्न स्थानमा पहिरो तथा नदी कटानका कारण लोकमार्ग अवरुद्ध भएपछि उहाँ निर्धारित समयमा अस्पताल पुग्न सक्नुभएन।

बागलुङ खण्डको सडक सञ्चालनमा आएपछि मंगलबार बिहान सदरमुकामसम्म आइपुगेकी उहाँलाई पोखरा पुग्न पनि सहज भएन। बागलुङ बजारबाट झोलुङ्गे पुल हुँदै पर्वतको अदुवाबारी र पाङसम्म करिब ४५ मिनेट पैदल हिँडेपछि मात्र पोखराका लागि सवारीसाधन भेटिएको उहाँको भनाइ छ।

मालढुङ्गाको पुल भत्किएपछि समस्या

बागलुङ र पर्वतको सीमा क्षेत्रमा पर्ने मालढुङ्गास्थित कालीगण्डकी नदीमाथिको पुलमा क्षति पुगेपछि यात्रु तथा सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्।

त्यसैगरी पर्वतको कुश्मा नगरपालिका–२ नयाँपुलमा कालीगण्डकी नदीले एक सय मिटरभन्दा बढी सडक कटान गरेको छ। यसका कारण मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, पोखरा तथा अन्य गन्तव्यमा जाने यातायात सेवा प्रभावित भएको छ।

लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाने यातायातका साधनसमेत नियमित रूपमा सञ्चालन हुन सकेका छैनन्।

लोकमार्ग अवरुद्ध हुँदा विशेषगरी बिरामी, वृद्धवृद्धा तथा अशक्त यात्रु बढी समस्यामा परेका छन्। बिरामी लिएर पोखरा आएका बागलुङ काठेखोला गाउँपालिका–३ धम्जाका प्रेम श्रीसले मालढुङ्गाको पुल यथाशीघ्र पुनर्निर्माण गर्नुपर्ने बताउनुभयो।

उहाँका अनुसार मुख्य सडक र पुलमा क्षति पुगेपछि आवागमन तथा सामान ढुवानीमा ठूलो समस्या उत्पन्न भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको लोकमार्गलाई सरकारले प्राथमिकताका साथ सञ्चालनमा ल्याउनुपर्ने उहाँको माग छ।

बस सञ्चालन हुन सकेन

धवलागिरि–गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीका अनुसार हाल वैकल्पिक सडक प्रयोग गरेर कठिन रूपमा साना सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

“बस सञ्चालन गर्न सक्ने अवस्था छैन, सबैभन्दा समस्या बिरामीलाई परेको छ,” उहाँले भन्नुभयो, “आज बिहानमात्रै बागलुङबाट बिरामीलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था आयो।”

उहाँले क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा सरकारले तत्काल पहल गर्नुपर्ने बताउनुभयो।

हाल बागलुङबाट पोखरालगायत गन्तव्यमा जाने साना सवारीसाधनले कालीगण्डकी करिडोर हुँदै ज्यामिरेघाट–फलेवासको घुमाउरो बाटो प्रयोग गरिरहेका छन्। यसबाट यात्रामा थप समय लाग्ने गरेको छ।

बागलुङ–पोखरा चल्ने विद्युतीय माइक्रोबसले पनि बागलुङ बजारबाट पैदल हिँडेर पर्वतको पाङसम्म पुगेका यात्रुलाई अर्मादी हुँदै पोखरा पुर्‍याउन वैकल्पिक सडक प्रयोग गरिरहेको चालक सुवास परियारले बताउनुभयो।

चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भए पनि सडक अवरुद्ध हुँदा यातायात व्यवसायी र यात्रु दुवै समस्यामा परेको उहाँको भनाइ छ।

नयाँपुलमा अस्थायी सडक खोलिँदै

पर्वतका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले कुश्मा नगरपालिका–२ नयाँपुलमा नदीले सडक कटान गरेको स्थानमा अस्थायी रूपमा नयाँ मार्ग खोल्ने काम सुरु भइसकेको जानकारी दिनुभयो।

एक–दुई दिनभित्र एकतर्फी रूपमा यातायात सञ्चालन गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो।

मालढुङ्गाको क्षतिग्रस्त पुलमा बेलीब्रिज राख्ने वा अन्य प्रविधिबाट पुनर्निर्माण गर्ने भन्ने विषयमा भने अझै निर्णय भइनसकेको उहाँको भनाइ छ।

सम्बन्धित इन्जिनियर तथा प्राविधिकले पुलको अध्ययन तथा स्थलगत अवलोकन गरिसकेको र सकेसम्म छिटो पुल सञ्चालनमा ल्याउन पहल भइरहेको उहाँले बताउनुभयो।

धवलागिरिका जिल्लाको सडक सम्पर्क प्रभावित

आइतबार कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मध्यपहाडी लोकमार्ग विभिन्न स्थानमा अवरुद्ध भएको थियो।

कतिपय स्थानमा एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याइए पनि ठूलो क्षति पुगेका क्षेत्रमा यातायात सहज हुन अझै समय लाग्ने देखिएको छ।

यसैगरी नेपालको उत्तरी नाका चीनको कोरलासँग जोडिने मालढुङ्गा–बेनी–मुस्ताङ सडक समेत पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

चाडपर्व नजिकिँदै गर्दा मुख्य सडक तथा पुलमा भएको क्षतिका कारण यात्रु आवागमन, बिरामीको उपचार पहुँच र दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत थप समस्या देखिएको छ।