काठमाडौँ, असोज २० गते । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेकाले आगामी २४ घण्टामा देशभरको मौसममा बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
विभागले मंगलबार बिहान ८ बजे जारी गरेको पूर्वानुमानअनुसार आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ।
त्यस्तै, पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
राति पनि वर्षाको सम्भावना
आज राति हिमाली र पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि सामान्यतया बादल रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने विभागले जनाएको छ।
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ। मौसम बदलीसँगै वर्षा, चट्याङ र हिमपातको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







