10/06/2026, 19:37:47
मङ्गलबार, असोज २०, २०८३

धरानमा बढ्दै साइक्लिङको लहर: साहसिक यात्रा, पर्यटन र रोजगारीको माध्यम बन्दै


धरान, असोज २० गते । ‘लाहुरेको सहर‘ र आधुनिक फेसनका रूपमा चिनिएको पूर्वी नेपालको सुन्दर सहर धरान पछिल्लो समय साइक्लिङ हबका रूपमा परिचित हुँदै गएको छ।

धरानका मुख्य सडकदेखि वरपरका डाँडाकाँडा र ग्रामीण भेगसम्म साइकल कुदाउने युवाहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ। मनोरञ्जन र दैनिक आवत-जावतका लागि मात्र नभई साहसिक खेलकुद, पर्यटन र आयआर्जनको माध्यमका रूपमा युवाहरूले साइक्लिङलाई अपनाउन थालेका छन्।

धरान-११ का १८ वर्षीय दीपसागर तामाङ जुनियर नेसनल च्याम्पियन भइसक्नुभएको छ। उहाँले गत वर्ष सिरिजङ्घा पर्यटन महोत्सवअन्तर्गत विश्वमै पहिलोपटक जुनियर टोलीको तर्फबाट कञ्चनजङ्घा आधार शिविरसम्म साइकल यात्रा गरी कीर्तिमान रच्नुभएको थियो। उहाँका साथै घरायसी समस्याका कारण कक्षा ८ पछि पढाइ छाडेर पत्रिका बाँड्दै साइक्लिङ सिकेका २४ वर्षीय अनिस तामाङले धरानदेखि दिल्लीसम्म १९ दिने साइकल यात्रा गर्नुका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेसहरूमा पदक जित्न सफल हुनुभएको छ।

साइकल यात्राले स्वास्थ्य, मानसिक ताजगी र प्रकृतिको सामिप्यता दिलाउने धरान-१२ का अमित श्रेष्ठ बताउनुहुन्छ। त्यस्तै, १५ वर्षदेखि साइक्लिङ गर्दै आउनुभएका विजय श्रेष्ठ र दीपक जिमीले साइक्लिङलाई पर्यटनसँग जोडेका छन्। दीपक जिमीले अहिले नेपाल आउने विदेशी पर्यटकहरूलाई साइकलमार्फत विभिन्न पर्यटकीय स्थल घुमाउने गाइडका रूपमा काम गर्दै राम्रो आयआर्जन समेत गरिरहनुभएको छ।

धरानमा साइक्लिस्टहरूलाई प्रोत्साहन गर्न ‘पेड्लर्स धरान‘को आयोजनामा हरेक वर्ष ‘कोरा राइड‘ साइक्लिङ च्यालेन्ज सञ्चालन हुँदै आएको छ। सन् २०१७ देखि सुरु भएको यस कार्यक्रममा बालबालिकादेखि विभिन्न उमेर समूहका ३ सयभन्दा बढी साइक्लिस्ट सहभागी हुने गरेका छन्। यद्यपि, सुरक्षित र व्यवस्थित साइकल लेनको अभाव धरानका साइक्लिस्टहरूका लागि मुख्य चुनौतीका रूपमा रहेको छ।