07/17/2026, 11:23:02
शुक्रबार, साउन ०१, २०८३

मित्रराष्ट्रसँगको सम्बन्ध र राष्ट्रियतामा आँच आउने चलचित्र प्रदर्शनमा रोक लगाइने


काठमाडौँ, साउन १ गते । नेपालको राष्ट्रिय सुरक्षा, शान्ति व्यवस्था र मित्रराष्ट्रसँगको सम्बन्धमा खलल पुर्‍याउने खालका चलचित्र प्रदर्शनमा रोक लगाइने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले त्यस्ता चलचित्र रोक्न केन्द्रीय चलचित्र जाँच समितिलाई निर्देशन दिएको हो।

समितिले चलचित्र विकास बोर्डलाई चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८(३) को व्यवस्था स्मरण गराउँदै यसको पूर्ण पालना गर्न सरोकारवालाहरूलाई आग्रह गरेको छ।

जाँच समितिका सदस्य मनोज पण्डितले नेपालले अँगालेको असंलग्न परराष्ट्र नीति विपरीत र छिमेकी मित्रराष्ट्रविरुद्ध बनेका कुनै पनि चलचित्रलाई प्रदर्शनको अनुमति नदिइने प्रष्ट पार्नुभयो। यता, नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले यो व्यवस्था पहिलेदेखि नै लागू रहँदै आएकाले नयाँ नभएको र यसबारे छलफल भइरहेको बताउनुभयो।