काठमाडौँ, जेठ ५ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णकुमार कार्कीले विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयमा प्रतिनिधिसभामा प्रश्न उठेको छ ।
मोरङ-२ बाट निर्वाचित सांसद कार्कीले नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयमा प्रतिनिधिसभाको मंगलबारको बैठकमा तीन जना महिला सांसदले प्रश्न उठाएका छन् । प्रमुख प्रतिपक्षी, एमाले र नेकपाका सांसदले सरकारको नेतृत्व गरिरहेको रास्वपाका सांसद कार्कीमाथि प्रश्न उठाएका हुन् ।
संसददेखि सामाजिक संजालसम्म सांसद कार्कीको विषयमा प्रश्न उठेपछि रास्वपाले भने आन्तरिक रूपमा छानतबिन थालेको छ । रास्वपा मुख्य सचेतकसमेत रहेका महामन्त्री कबिन्द्र बुर्लाकोटीले सांसद कार्कीका विषयमा पार्टीको अनुशासन आयोगले छानबिन थालेको जानकारी दिए । ‘यो विषय बाहिर आइसकेपछाडि पार्टीको अनुशासन आयोगले उहाँसँग सो विषयमा जानकारी लिइराखेको छ । आन्तरिक रूपमा पार्टीको अनुशासन आयोगले त्यसबारेमा छानबिन गरिरहेको हो,’ बुर्लाकोटीले भने, ‘पार्टीको छानबिनले सिफारिस गरेपछि आवश्यक परेमा अर्को चरणमा प्रवेश गर्छ । पार्टीको रिपोर्टले कुन तहको कुरा सिफारिस गर्छ त्यो अनुसार हुन्छ ।’


सांसद कार्कीका विषयमा सार्वजनिक रूपमा कुराहरू आएपछि संसद्मा प्रश्न उठ्नु स्वाभाविक रहेको मुख्य सचेतक बुर्लाकोटीको भनाइ थियो । ‘सदनमा कुरा उठ्नु स्वाभाविक हो,’ उनले भने ।
एमाले सांसद साजिदा खातुन सिद्धिकीले रास्वपा सांसद कार्कीका विषयमा यथार्थ के हो भनेर प्रश्न गरेपछि सभामुख डीपी अर्यालले संसदीय छानबिन हुने संकेत गरेका छन् । सभामुख अर्यालले भनेका थिए, ‘माननीय सदस्यले उठाउनुभएको विषयमा मेरो ध्यानाकर्षण भएको छ र त्यसै (प्रतिनिधिसभा नियमावली)को नियम २२० पनि छ, त्यसमा ध्यानाकर्षण गराए ।’
प्रतिनिधिसभा नियमावलीको नियम २२० मा आचरण अनुगमन समितिको व्यवस्था छ । जसमा प्रतिनिधिसभामा एक आचरण अनुगमन समिति रहने व्यवस्था गरिएको छ । यो समितिको सभापति सभामुख र उपसभापति उपसभामुख हुने व्यवस्था छ । विपक्षी दलको नेतासँगै कार्यव्यवस्था परामर्श समितिको परामर्शमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलीय प्रतिनिधित्वको आधारमा सभामुखद्वारा मनोनीत बढीमा १२ जना सदस्य रहने नियमावलीको व्यवस्था छ । संघीय संसद्का महासचिवले यो समितिको सचिव भई काम गर्ने व्यवस्था छ ।


सभामुख अर्यालले सांसद कार्कीको आचरणको विषय संसद्मा उठेकाले उक्त समितिले काम गर्ने संकेत गरेका हुन् । यो समितिले कुनै सांसदले आचारसंहिताको उल्लंघन गरेको भनी सार्वजनिक रूपमा उठेका प्रश्न वा कसैले समितिसमक्ष दिएको सूचनाको आधारमा आवश्यक छानबिन गर्ने नियमावलीको व्यवस्था छ । छानबिनका क्रममा ‘आचारणका सम्बन्धमा उठेका प्रश्नको सम्बन्धमा सम्बन्धित सदस्य तथा अन्य व्यक्तिसँग आवश्यक जानकारी लिने, आचारणका सम्बन्धमा प्रश्न उठाउने व्यक्ति, संस्था वा सञ्चार माध्यमसँग आवश्यक जानकारी लिने‘ अधिकार यो समितिलाई नियमावलीले दिएको छ ।
छानबिन प्रतिवेदन तयार पारेर समितिले प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने व्यवस्था नियमावलीले गरेको छ ।
– जयसिंह महरा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































