10/04/2026, 18:29:53
आइतबार, असोज १८, २०८३

मिथिलामा श्रद्धा र आस्थासाथ सम्पन्न भयो जितिया पर्व


गौशाला, असोज १८ गते । सन्तानको दीर्घायु, सुख–शान्ति र पारिवारिक कल्याणको कामना गर्दै मिथिलाञ्चलका महिलाले मनाउने जितिया पर्व आइतबार धार्मिक तथा सांस्कृतिक विधिअनुसार सम्पन्न भएको छ।

आश्विन कृष्ण अष्टमीका दिन मनाइने जितिया पर्वमा व्रतालु महिलाले निराहार तथा निर्जल उपवास बसेर भगवान् जिमुतवाहनसँगै चिल र स्यालको पूजा गर्ने परम्परा छ। मिथिला क्षेत्रमा जितियालाई अत्यन्त पवित्र र कठिन व्रतका रूपमा लिइन्छ।

तीन दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरी मनाइने पर्वअन्तर्गत शुक्रबार राति ‘ओगटन’ खाएर महिलाले व्रत सुरु गरेका थिए। शनिबार दिनभर पानीसमेत नखाई निराहार व्रत बसेका महिलाले आइतबार स्नान, पूजापाठ तथा आवश्यक धार्मिक विधि पूरा गरी व्रत समापन गरेका हुन्।

व्रतको अन्तिम दिन महिलाले विधिपूर्वक फलाहार वा अन्न ग्रहण गरी उपवास तोड्ने परम्परा रहेको छ।

जिमुतवाहनको कथा सुनाउने परम्परा

जितिया पर्वका क्रममा महिलाले भगवान् जिमुतवाहनको कथा श्रवण गर्ने गर्छन्। स्थानीय परम्पराअनुसार ज्येष्ठ महिलाले कथा सुनाउने र तन्नेरी तथा अन्य व्रतालु महिलाले श्रद्धापूर्वक श्रवण गर्ने चलन छ।

व्रत सुरु गर्नुअघि ‘ओगटन’ गर्ने तथा व्रतका क्रममा चिल र स्यालको कथा सुन्ने परम्परा रहेको पण्डित इन्द्रकान्त झा शास्त्री बताउनुहुन्छ।

जितियाको अवसरमा घरको आँगनलाई गाईको गोबरले लिपपोत गरी सानो पोखरी बनाउने चलन छ। पोखरीको डिलमा पाकडीको हाँगा गाडेर त्यसमा माटोको चिल तथा त्यसको मुनि स्यालको आकृति बनाइन्छ। त्यसको विधिपूर्वक पूजा गरिन्छ।

त्यस्तै, जलले भरिएको कलशमा कुशबाट बनाइएको जिमुतवाहनको प्रतीक राखी फलफूललगायत सामग्रीबाट पूजा गर्ने परम्परा रहेको छ।

जिमुतवाहनसँग जोडिएको धार्मिक विश्वास

धार्मिक मान्यताअनुसार जितिया व्रतको सम्बन्ध राजा शालिवाहनका पुत्र जिमुतवाहनसँग जोडिएको छ। जिमुतवाहनको व्रत तथा उपासनाबाट सन्तानको दीर्घायु हुने विश्वासका कारण महिलाले आफ्ना सन्तानको सुख, स्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै यो व्रत बस्दै आएका छन्।

जितियासँग जोडिएको चिल र स्यालको कथाले व्रतको कठोरता, अनुशासन र नियम पालनाको महत्वसमेत झल्काउँछ। धार्मिक कथाअनुसार चिल र स्यालले जितिया व्रत बस्ने संकल्प गरेका थिए। तर स्यालले व्रतको नियम उल्लङ्घन गरेपछि त्यसको परिणाम सन्तानसँग जोडिएको कथामा उल्लेख छ। यही कारण जितियालाई कतिपय स्थानमा ‘खर जितिया’ समेत भन्ने गरिन्छ।

खानपानमा पनि विशेष परम्परा

व्रतको अघिल्लो दिन सधवा महिलाले माछा र कोदोको रोटी खाने परम्परा रहेको छ। शाकाहारी महिलाले भने गम्हरीको खीर वा भात खाने गर्छन्।

अष्टमीको बिहानै उठेर स्नान तथा पूजापाठ गरेपछि महिलाले निराहार व्रत सुरु गर्छन्। दिनभर पानीसमेत नखाई व्रत बसेपछि भोलिपल्ट बिहान स्नान तथा पूजा सम्पन्न गरी व्रत तोड्ने गरिन्छ।

थारू समुदायमा पनि लोकप्रिय

जितिया पर्व मिथिला क्षेत्रका अतिरिक्त थारू समुदायका महिलामाझ पनि उत्तिकै लोकप्रिय रहेको छ। थारू समुदायमा विवाहित महिलाले सन्तान र पतिको सुख–शान्तिको कामना गर्दै तीन दिनसम्म विभिन्न विधिसहित यो पर्व मनाउने गर्छन्।

पर्वका क्रममा चिल र स्यालको पूजा, जिमुतवाहनको कथा श्रवण तथा नाचगान गर्ने परम्परा रहेको छ।

जितियालाई मिथिला क्षेत्रमा दसैँ आगमनको सांस्कृतिक संकेतका रूपमा समेत लिइन्छ। स्थानीय जनजीवनमा प्रचलित ‘जितिया, दसैँ, दशमी’ भन्ने भनाइले जितियापछि क्रमशः दसैँ, दीपावली र छठजस्ता प्रमुख पर्व आउने सांस्कृतिक क्रमलाई जनाउने गर्दछ।

पछिल्लो समय जितिया सन्तानको कल्याणका लागि गरिने व्रतमा मात्र सीमित नरही महिला, परिवार, पितृ तथा सामाजिक सम्बन्धसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा स्थापित हुँदै गएको छ। यस पर्वले मिथिलाको मौलिक संस्कृति, धार्मिक आस्था तथा महिलाको सामाजिक–सांस्कृतिक भूमिकालाई पुस्तान्तरण गर्दै आएको छ।