10/04/2026, 16:12:17
आइतबार, असोज १८, २०८३

उत्तर कोरियाले एआई प्रविधियुक्त क्षेप्यास्त्र परीक्षण गरेको दाबी


काठमाडौँ, असोज १८ गते । उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरिएको नयाँ मध्यम दूरीको रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ। दक्षिण कोरियाले प्योङयाङबाट ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पत्ता लगाएको केही घण्टापछि उत्तर कोरियाले यस्तो दाबी गरेको हो।

उत्तर कोरियाली नेता किम जोङ उनको बहिनी किम यो जोङले शनिबार परीक्षण गरिएको क्षेप्यास्त्रले कम उचाइमा उड्दै आफ्नो उडान मार्ग परिवर्तन गर्न सक्ने बताएकी छन्।

उनका अनुसार क्षेप्यास्त्रमा एआई प्रविधि प्रयोग गरिएकाले यसलाई निगरानी गर्न तथा अवरोध गर्न कठिन हुने दाबी गरिएको छ। यद्यपि, उत्तर कोरियाले क्षेप्यास्त्रमा एआई कसरी प्रयोग गरिएको हो भन्नेबारे प्राविधिक विवरण सार्वजनिक गरेको छैन।

दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले पूर्वी तटीय क्षेत्र वोन्सानबाट क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। उक्त क्षेप्यास्त्र पूर्वी समुद्रतर्फ ७ सय किलोमिटरभन्दा बढी दूरीसम्म पुगेको दक्षिण कोरियाको दाबी छ। पूर्वी समुद्रलाई जापान सागरका रूपमा पनि चिनिन्छ।

क्षेप्यास्त्र प्रक्षेपणपछि दक्षिण कोरिया, अमेरिका र जापानले घटनासम्बन्धी सूचना तथा सैन्य विवरण आदानप्रदान गरिरहेको दक्षिण कोरियाली सेनाले जनाएको छ।

एआईले क्षेप्यास्त्रको मार्ग परिवर्तन गर्न सक्ने दाबी

किम यो जोङले परीक्षण गरिएको हतियारलाई ‘मध्यम दूरीको रणनीतिक क्षेप्यास्त्र’ भन्दै त्यसमा एआई प्रविधि समावेश गरिएको दाबी गरेकी छन्।

उनका अनुसार क्षेप्यास्त्रले कम उचाइमा उडान गरिरहेको अवस्थामा आफ्नो मार्ग परिवर्तन गर्न सक्छ। उनले यसले ‘लहरजस्तो उडान मार्ग’ अपनाउन सक्ने दाबी गर्दै परम्परागत निगरानी तथा प्रतिरक्षा प्रणालीबाट पत्ता लगाउन कठिन हुने बताएकी छन्।

किमले उनका दाजु तथा उत्तर कोरियाली नेता किम जोङ उनले अन्य देशले यस्तो प्रविधि हासिल गर्न अझै केही वर्ष लाग्ने विश्वास व्यक्त गरेको पनि बताएकी छन्।

उत्तर कोरियाले पछिल्लो समय आफ्ना हतियार प्रणालीमा एआईको प्रयोग बढाउन जोड दिँदै आएको छ। किम जोङ उनले गत महिना सैन्य प्रविधिमा एआईको प्रयोग थप विस्तार गर्न निर्देशन दिएका थिए।

तर विज्ञहरूले उत्तर कोरियाका यस्ता दाबीलाई तत्काल पूर्ण रूपमा विश्वास गर्न नहुने बताएका छन्। दक्षिण कोरियाका सैन्य मामिला अनुसन्धानकर्ता हङ सङ प्योलगायत विज्ञका अनुसार एआई प्रविधिको प्रयोग सैन्य क्षेत्रमा, विशेषगरी क्षेप्यास्त्र र ड्रोनमा, बढिरहेको भए पनि उत्तर कोरियाले दाबी गरेजस्तै क्षेप्यास्त्रको क्षमता वास्तवमै विकसित भएको हो कि होइन भन्ने निष्कर्षमा पुग्न पर्याप्त प्रमाण छैन।

एआईले लक्ष्य पहिचान, निशाना निर्धारण र प्रक्षेपण प्रक्रियामा सहयोग गर्न सक्ने भए पनि उत्तर कोरियाको नयाँ क्षेप्यास्त्रमा यसको वास्तविक क्षमता कति छ भन्ने अझै स्पष्ट नभएको विज्ञहरूको भनाइ छ।

डीएमजेड विस्फोटपछि बढेको तनाव

नयाँ क्षेप्यास्त्र परीक्षण दक्षिण कोरिया र उत्तर कोरियाबीच तनाव बढिरहेका बेला भएको हो।

केही दिनअघि गैरसैनिकीकृत क्षेत्र (डीएमजेड) मा भएको विस्फोटमा तीन जना दक्षिण कोरियाली सैनिक घाइते भएपछि सियोलले उत्तर कोरियासँग औपचारिक रूपमा माफी माग्न आग्रह गरेको थियो।

दक्षिण कोरिया र अमेरिकी नेतृत्वको संयुक्त राष्ट्र कमान्डले उक्त विस्फोट उत्तर कोरियाले सीमाक्षेत्रमा राखेका बारुदी सुरुङका कारण भएको निष्कर्ष निकालेका थिए। तर उत्तर कोरियाले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले तनाव कम गर्न प्योङयाङलाई संवादमा फर्किन आग्रह गरेका थिए। तर किम यो जोङले उक्त प्रस्ताव अस्वीकार गर्दै दक्षिण कोरियालाई आलोचना गरेकी छन् र माफी माग्नुपर्ने माग पनि अस्वीकार गरेकी छन्।

यसैबीच, उत्तर कोरियाले युक्रेन युद्धमा रुसलाई सैन्य सहयोग गरेको र त्यसको बदलामा रुसबाट सैन्य सहयोग तथा प्रविधि प्राप्त गरिरहेको आरोपसमेत लाग्दै आएको छ। यसले प्योङयाङको क्षेप्यास्त्र तथा अन्य अत्याधुनिक हतियार क्षमतामा थप विकास हुन सक्ने भन्दै दक्षिण कोरिया तथा अन्य मुलुकमा चिन्ता बढाएको छ।