10/05/2026, 13:11:08
सोमबार, असोज १९, २०८३

‘महिला अधिकारको विषय सदनमा उठाउँछु’

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

उर्लाबारी, चैत २७ गते । शारीरिक सुगठनमा स्थापित नाम रजनी श्रेष्ठले नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपालको सफल प्रतिनिधित्व गर्नुभएको छ । शारीरिक सुगठनबाटै नाम कमाउनुभएकी उहाँको परिचय यतिबेला फेरिएको छ । उहाँ अब सङ्घीय संसद्को माननीय बन्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको समानुपातिक सांसदमा निर्वाचित श्रेष्ठले महिलालाई अधिकार सम्पन्न बनाउन आफू सधैँ सक्रिय हुने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “महिला अधिकारको विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँछु ।”

झापाको मेचीनगर नगरपालिकाको धुलाबारीमा जन्मिएर मोरङको मिक्लाजुङ– ९ मधुमल्लामा स्थायी बसोबास गर्दै आउनुभएकी श्रेष्ठ भन्नुहुन्छ, “महिलाहरूमा उत्साह, सामथ्र्य र ऊर्जा भर्न रुचि अनुसारका कार्यक्रम ल्याई उनीहरूलाई सिप, रोजगार र सिर्जनामा जोड्नु पर्छ । विगतमा परम्परागत कार्यक्रम भए । अब महिलालाई समयसापेक्ष प्रविधिसँग जोडिने काममा सक्रिय गर्नु पर्छ । महिलालाई आफैँमा परिवर्तन ल्याएर शारीरिक र मानसिक रूपमा स्वस्थ रहनु पर्छ भन्ने सन्देश प्रवाह गर्नु पर्छ ।”

उहाँले आफू मोरङ मात्र नभएर सबै जिल्लाका समस्या पहिचान गर्दै खेलकुदलाई व्यावसायिक बनाउन लगानी वृद्धि गर्ने, आवश्यकताका आधारमा विकास निर्माणका काम गर्ने र सधैँ सुकुमवासी समस्या देखाएर मत माग्ने परिपाटी अन्त्य गर्दै सुकुमवासी समस्याको दिगो समाधान खोजिने बताउनुभयो । शिक्षा र स्वास्थ्यमा सबै नागरिकको समान पहुँचका लागि समुदायसँग जोडिएर काम गर्ने श्रेष्ठको भनाइ छ ।

– हरिप्रसाद कोइराला