10/10/2026, 08:45:12
शनिबार, असोज २४, २०८३

नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा गगनकुमार थापा निर्वाचित

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौं, असोज २४ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको केन्द्रीय कार्यसमितिको निर्वाचनमा गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा निर्वाचित हुनुभएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको परिणाम अनुसार उहाँले ६ हजार ५८४ मत प्राप्त गर्दै यो सफलता हासिल गर्नुभएको हो।

कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका, २०८२ बमोजिम सम्पन्न यस महाधिवेशनमा कुल ७ हजार १३ मत खसेको थियो। जसमा ५४ मत बदर भएपछि कायम भएको ६ हजार ९५९ कुल सदर मतबाट थापाले ठूलो मतान्तरका साथ जित सुनिश्चित गर्नुभएको हो।

उहाँका निकटतम प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्का, सदस्य सचिव राजु कटवाल र सदस्य सुजन लोप्चनद्वारा हस्ताक्षरित निर्वाचन परिणाममा यो जानकारी गराइएको हो।

यसअघि पनि भएको विशेष महाधिवेशनबाट सभापति पदमा निर्वाचित भईसक्नुभएका थापाको यो विजयले पार्टीभित्र नयाँ ऊर्जा र उत्साह थपेको छ। अब उहाँको नेतृत्वमा कांग्रेसले आगामी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।

निर्वाचन परिणाम सारांश तालिका

विवरण / उम्मेदवार प्राप्त मत सङ्ख्या प्रतिशत / नतिजा
गगनकुमार थापा (विजेता) ६,५८४ मत निर्वाचित सभापति
श्यामकृष्ण खड्गी (प्रतिस्पर्धी) ३७५ मत पराजित
कुल खसेको मत ७,०१३ मत –
बदर मत ५४ मत –
जम्मा कायम मत ६,९५९ मत –