10/11/2026, 10:42:45
आइतबार, असोज २५, २०८३

बिना स्वीकृति इन्टरनेट शुल्क बढाए कारबाही गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको चेतावनी


काठमाडौँ, असोज २४ गते । इन्टरनेट सेवाप्रदायकहरूले बिनास्वीकृति सेवाशुल्क बढाएको विषयप्रति नेपाल दूरसञ्चार प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै स्वीकृत दररेटभन्दा बढी शुल्क लिएमा वा ग्राहकलाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गरेमा दूरसञ्चार ऐन तथा नियमबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ।

हालै इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान) ले विभिन्न कारण देखाउँदै सस्तो इन्टरनेट प्याकेजहरू बन्द गर्ने घोषणा गरेको थियो। यस निर्णयले गर्दा उपभोक्ताहरूलाई न्यूनतम दुई सय एमबिपिएसको प्याकेज लिनुपर्ने बाध्यता सिर्जना भएको छ, जसले गर्दा सस्तो प्याकेज प्रयोग गरिरहेका आम उपभोक्ताहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरूलाई सेवाशुल्क बढाउनुभन्दा कम्तीमा तीन महिनाअगावै स्वीकृतिका लागि प्रस्ताव पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको कुरा स्मरण गराएको छ। स्वीकृत दररेट अनिवार्य रूपमा सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने र तोकिएकोभन्दा बढी शुल्क असुलेको वा उपभोक्ताको हकहितविपरीत कार्य गरेको पाइएमा तत्काल जानकारी गराउन पनि प्राधिकरणले आग्रह गरेको छ।

विषय / बुँदा विवरण
मुख्य चेतावनी बिनास्वीकृति इन्टरनेट सेवाशुल्क बढाए दूरसञ्चार ऐनअनुसार कारबाही गरिने
समस्या आइस्पानद्वारा सस्तो प्याकेज बन्द गरी उच्च क्षमताको प्याकेज लिन बाध्य पारिएको
नियम / सर्त शुल्क बढाउनुभन्दा कम्तीमा ३ महिनाअगाडि प्राधिकरणको स्वीकृति लिनुपर्ने
उपभोक्ताका लागि आग्रह स्वीकृत दरभन्दा बढी शुल्क लिएको वा अनधिकृत सेवा चलेको पाइएमा जानकारी गराउने