10/09/2026, 10:41:20
शुक्रबार, असोज २३, २०८३

हुम्लाको लिमीमा हिमपातले २०० पशु बेपत्ता, खोजीमा कठिनाइ


हुम्ला, असोज २३ गते । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीका उच्च पाटनमा चरनका लागि लगिएका चौरी गाईसहित २०० पशुवस्तु बेपत्ता भएका छन् । असोज १० र ११ गते भएको भारी हिमपातपछि ती पशुवस्तुको अवस्था हालसम्म अज्ञात रहेको छ ।

वडाध्यक्ष पाल्जोर तामाङका अनुसार बेपत्ता पशुवस्तुमा १०० चौरी गाई, ५० घोडा र ५० जुमा तथा झोपा रहेका छन् ।

लिङ खोला क्षेत्रको उच्च पाटनमा चरनका लागि लगिएका पशुवस्तु बाक्लो हिमपातमा परेका थिए । हिमपातपछि उच्च पाटनमा बाक्लो हिउँ जमेकाले खोजीका लागि जानसमेत कठिन भएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

प्रतिकूल मौसम र हिउँका कारण पशुवस्तुको अवस्था पत्ता लगाउन नसकिएको उहाँको भनाइ छ । खोजीमा जान सक्ने अवस्था नहुँदा बेपत्ता पशुवस्तु जीवितै भेटिने आशा कम हुँदै गएको उहाँले बताउनुभयो ।

वडाध्यक्ष तामाङले बेपत्ता पशुवस्तुको खोजी तथा अवस्थाबारे जानकारी लिन सहयोग गर्न सम्बन्धित निकाय र सरोकारवालासँग आग्रह गर्नुभएको छ ।

हिमपातमा परेका चौरी गाई जीवित अवस्थामा फेला नपरे लिमी क्षेत्रमा चौरीको सङ्ख्या उल्लेख्य रूपमा घट्ने स्थानीयले चिन्ता व्यक्त गरेका छन् । पशुपालनमा निर्भर स्थानीयका लागि यस घटनाले आर्थिक क्षति निम्त्याउने जोखिमसमेत बढाएको छ ।