काठमाडौँ, असोज २३ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहान मतदान सुरु भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशबाट पहिलो मत खसाल्नुभएको छ ।
मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि लाइनमा बसेका थिए । अघिल्लो दिन मतदान गर्न नपाएका प्रतिनिधिहरू शुक्रबार मतदान सुरु भएपछि उत्साहित भएका छन् । दसैँका लागि घर फर्किनुपर्ने प्रतिनिधिहरू मतदान सकेर गन्तव्यतर्फ लाग्ने तयारीमा छन् ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार खराब मौसम, प्राविधिक समस्या र मतदान प्रक्रिया ढिला हुँदा रातिको समयमा मतदातालाई कठिनाइ हुने देखिएपछि बिहीबार अपराह्नका लागि तय गरिएको मतदान शुक्रबार बिहान सारिएको हो ।
उहाँले दिउँसो ३ बजेसम्म मतदान सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । सदस्य सचिव कटुवालका अनुसार महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेका छन् ।
निर्वाचन समिति संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले साँझ मतदान सुरु गर्दा मतदातालाई रातभर असहज हुने भएकाले बिहानदेखि मतदान प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
उम्मेदवार र मतदाताको सङ्ख्या धेरै भएकाले मतपत्र छपाइमा ढिलाइ भएको उहाँले जानकारी दिनुभयो । मतपत्रमा हस्ताक्षर गर्न आफू सहित ३२ जना वरिष्ठ अधिवक्ता खटिएको पनि उहाँले बताउनुभयो ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानलाई महाधिवेशनको महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








