10/08/2026, 11:40:04
बिहिबार, असोज २२, २०८३

कांग्रेसको १५औँ महाधिवेशन : गुट–उपगुट अन्त्य गर्दै ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को सङ्कल्प


काठमाडौँ, असोज २२ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टीभित्रको गुटगत राजनीति अन्त्य गर्दै सङ्गठन पुनर्संरचना, नयाँ पुस्ताको सहभागिता र नागरिकले राजनीतिक उपलब्धिको प्रत्यक्ष प्रतिफल पाउने गरी पार्टीलाई अघि बढाउने सङ्कल्प गरेको छ ।

महाधिवेशनको बन्दसत्र समापन समारोहलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले विगतमा रहेका गुट–उपगुट र विभिन्न समूह अब समाप्त भएको घोषणा गर्नुभयो । उहाँले कांग्रेसलाई एकढिक्का बनाएर नीति, विचार र राष्ट्रिय मुद्दामा केन्द्रित पार्टीका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “विगतमा अनेक नेताका नाममा गुट–उपगुट थिए, यी सबै गुट आजकै दिनदेखि सकिए । कुनै समूह नभई पार्टी अब एकढिक्का भएर अगाडि बढ्ने छ ।”

सभापति थापाले कांग्रेसलाई आन्तरिक समूह व्यवस्थापनमा मात्र सीमित नराखी मुलुकका प्रमुख सवालमा समाज र नागरिकबीच बहस गर्ने तथा परिणाम दिने राजनीतिक शक्तिका रूपमा विकास गरिने बताउनुभयो । उहाँले कांग्रेसलाई परिवारको संज्ञा दिँदै पार्टीमा सबैको हैसियत समान हुने र जिम्मेवारी मात्र फरक हुने धारणा राख्नुभयो ।

‘समुन्नत नेपाल, सम्मानित नेपाली’ लक्ष्य

सभापति थापाले प्रस्तुत गर्नुभएको ‘राष्ट्रिय पुनर्जागरण तथा समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव महाधिवेशनले सर्वसम्मतिले पारित गरेको छ ।

प्रस्तावमा लोकतन्त्र, शान्ति, गणतन्त्र र संविधान निर्माणबाट प्राप्त उपलब्धिको प्रतिफल नागरिकको जीवनमा पुर्‍याउने, राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई समयानुकूल पुनःपरिभाषित गर्ने तथा कांग्रेसलाई निर्वाचन र सत्ताकेन्द्रित दलबाट परिणाममुखी राष्ट्रिय शक्तिका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिइएको छ ।

प्रस्तावले नेपालको राजनीतिक यात्रालाई ‘राष्ट्रिय शक्तिको छैटौँ अध्याय’ का रूपमा अघि बढाउँदै गन्तव्य ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ तय गरेको छ ।

युवा विद्रोह तथा भदौ २३ र २४ गतेका घटनाको स्वतन्त्र छानबिन, निर्वाचनपूर्व गठबन्धन नगरी आफ्नै उम्मेदवार उठाउने, परिणाममुखी प्रतिपक्षको भूमिका निर्वाह गर्ने र योग्यताका आधारमा सङ्गठन निर्माण गर्ने विषय पनि प्रस्तावमा समेटिएका छन् ।

नयाँ पुस्तालाई प्राथमिकता

महाधिवेशनले वडादेखि केन्द्रसम्म सङ्गठन तथा नेतृत्व छनोट प्रक्रिया सुधार गर्ने निर्णय गरेको छ । सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने, नयाँ पुस्ताका साथै विदेशस्थित नेपाली कांग्रेसका कार्यकर्तालाई सङ्गठनमा समेट्ने र पाँच पुस्ताबीच सहकार्य तथा राष्ट्रिय मेलमिलापलाई प्राथमिकता दिने निर्णय गरिएको छ ।

आगामी छ महिना पार्टी निर्माण तथा सङ्गठन सुदृढीकरणमा केन्द्रित गर्ने कार्यदिशासमेत तय गरिएको छ ।

उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशनबाट पार्टीमा एकता र सद्भावको भावना थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले चुनावी प्रतिस्पर्धालाई व्यक्तिगत वैमनस्यमा परिणत गर्न नहुने बताउनुभयो ।

उहाँले प्रस्तुत गर्नुभएको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव पनि महाधिवेशनले पारित गरेको छ ।

कांग्रेस नेता भीष्मराज आङ्देम्बेले १५औँ महाधिवेशन विगतका महाधिवेशनभन्दा फरक र ऐतिहासिक भएको बताउनुभयो । नीति, सिद्धान्त र भावी कार्यदिशामाथि गम्भीर छलफल भएकाले यसले कांग्रेसको नीति र सोचमा परिवर्तन ल्याउने उहाँको भनाइ थियो ।

महाधिवेशनले महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गर्नुभएको सङ्गठनात्मक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको छ ।

आज नयाँ नेतृत्वका लागि मतदान

यसैबीच, नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुँदैछ । मतदानमा ७ हजार २५५ महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा गरी सात मतदान केन्द्र तोकिएको छ ।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेकाले उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको छ । यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।

राष्ट्रिय सभागृहमा बागमती प्रदेश, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी तथा खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ ।

भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।