

काठमाडौँ, जेठ २८ गते । इजरायल रोजगारीका लागि आवश्यक अङ्ग्रेजी भाषा परीक्षा व्यवस्थापनमा देखिएको प्राविधिक समस्या र परीक्षार्थीको गुनासोपछि परीक्षा स्थगित गरिएको छ । केयरगिभर रोजगारीका लागि अनिवार्य गरिएको आधारभूत तहको अङ्ग्रेजी भाषा प्रमाणपत्र (क्याम्ब्रिज अपस्किल्स इङ्ग्लिस टेस्ट) अन्तर्गत परीक्षा दिएका परीक्षार्थीले व्यवस्थापन, शुल्क र प्राविधिक कमजोरीबारे धेरै गुनासो आएपछि परीक्षा स्थगित गरिएको हो ।
उक्त परीक्षा त्रिपुरेश्वरस्थित सिआइआइएन मार्फत सञ्चालन भएको थियो । परीक्षा स्थगनसँगै १७ हजारभन्दा बढी नेपाली युवा प्रभावित भएका छन् । परीक्षाका सहभागीले परीक्षामा सर्भर समस्याले आवाज नआउने, हेडसेट तथा कम्प्युटर सेटअपमा कमजोरी र अत्यधिक भिडका कारण परीक्षा भद्रगोल भएको आरोप लगाएका छन् ।
सहभागीका अनुसार करिब दुई सय जनासम्मलाई एउटै हलमा राखेर परीक्षा सञ्चालन गरिएको थियो । परीक्षार्थीको स्पिकिङ टेस्टका क्रममा बोल्ने आवाज र सिस्टमबिचको समन्वय नमिल्दा समस्या भएको दाबी रहेको छ । साथै परीक्षार्थीले परीक्षा प्रणालीमा प्राविधिक समस्या रहेको दाबी गर्दै सर्भर ढिलो चल्ने, एउटै कुरा लोड हुन धेरै पटक प्रयास गर्नुपर्ने र निर्धारित समयभित्र परीक्षा सम्पन्न गर्न कठिनाइ हुने लगायतका समस्या भएको बताएका छन् । उक्त परीक्षाका लागि प्रतिव्यक्ति परीक्षा शुल्क पाँच हजार रुपियाँ बुझाएको तर संस्थाले आवश्यक कम्प्युटर, स्तरीय हेडसेट तथा अन्य भौतिक पूर्वाधार उपलब्ध नगराएको आरोप परीक्षार्थीको छ ।


यसअघि इजरायलका लागि भाषा परीक्षण ब्रिटिस काउन्सिलमार्फत हुँदै आएको थियो तर यस पटक क्याम्ब्रिज अपस्किल्स इङ्ग्लिस टेस्टका लागि सिआइआइएन अन्तर्गत नयाँ प्रणाली लागु गरिएको थियो, जसलाई सुरुदेखि नै विवादित बनाइएको छ ।
विभागले इजरायल पक्ष (पिबा) बाट छनोट भएर परीक्षा सञ्चालन गरिएको बताएको छ । विभागका अनुसार व्यवस्थापनको जिम्मा पाएको संस्थामा देखिएको प्राविधिक र सञ्चालनगत समस्याका कारण परीक्षा अवरुद्ध भएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































