10/05/2026, 20:51:53
सोमबार, असोज १९, २०८३

नेपाली कांग्रेसको संशोधित विधान पारित: केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने, महिला सहभागिता र समावेशितामा जोड

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, असोज १९ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज खुलामञ्चमा आयोजित बन्दसत्रले पार्टीको संशोधित विधान पारित गरेको छ। महामन्त्री प्रदीप पौडेलले पेस गर्नुभएको उक्त संशोधित विधानलाई बन्दसत्रले सर्वसम्मतिले पारित गरेको हो।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार नयाँ विधान अनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति अब कुल २९७ सदस्यीय हुनेछ। विधानमा पदाधिकारी संरचनातर्फ सभापति १, वरिष्ठ उपसभापति १, उपसभापति ४ (१ महिला अनिवार्य), महामन्त्री ३ (१ महिला अनिवार्य), र सहमहामन्त्री १५ जना रहने व्यवस्था गरिएको छ। कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूमध्येबाट मनोनीत हुनेछन्।

केन्द्रीय सदस्यहरूमा खुलातर्फ ४५ र महिलातर्फ १५ जना चयन हुनेछन्। समावेशीतातर्फ दलित (१४), आदिवासी जनजाति (२०), खस आर्य (१८), मधेसी (१३), थारू (६), मुस्लिम/पिछडिएको क्षेत्र/श्रमिक तथा पेसागत विज्ञ लगायतका विभिन्न समूहलाई समेटिएको छ।

त्यसैगरी, प्रत्येक प्रदेशबाट ४ जना (१ महिला अनिवार्य), काठमाडौँ उपत्यकाबाट २ जना, जनसम्पर्क समितिबाट ७ जना, ३५ वर्षमुनिका युवा (२१ जना), अपाङ्गता भएका व्यक्ति र प्रजातन्त्र सेनानीको समेत प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

यसका साथै केन्द्रीय कार्यसमितिले ६६ जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था गरिएको छ। सोमबार विधान पारित भएपछि मङ्गलबार बिहान १० बजेदेखि नयाँ नेतृत्वका लागि उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सुरु हुनेछ भने सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन मङ्गलबारको बन्दसत्रले पारित गर्नेछ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको नयाँ संरचना

पद / क्षेत्र (Post/Category)सङ्ख्या तथा समावेशी विवरण (Count & Representation Details)
पदाधिकारी (Officials)सभापति (१), वरिष्ठ उपसभापति (१), उपसभापति (४ – १ महिला), महामन्त्री (३ – १ महिला), सहमहामन्त्री (१५)
खुला तथा प्रादेशिक सदस्यखुला (४५), महिला खुला (१५), प्रत्येक प्रदेशबाट ४ (२८), काठमाडौँ उपत्यकाबाट २ जना
समावेशी तथा अन्य समूहजनजाति (२०), खस आर्य (१८), दलित (१४), मधेसी (१३), युवा-३५ वर्षमुनि (२१), पेसागत/जनसम्पर्क आदि
मनोनीत सदस्य (Nominated)केन्द्रीय कार्यसमितिले मनोनीत गर्ने: ६६ जना | कुल केन्द्रीय समिति: २९७ सदस्यीय