05/30/2026, 09:17:53
शनिबार, जेठ १६, २०८३

सरकारद्वारा नब्बे प्रतिशत नागरिकलाई ‘स्वास्थ्य बिमा कार्यक्रम’


काठमाडौँ, जेठ १६ गते । सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा एक खर्ब एक अर्ब ९५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । सरकारले बजेटमार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य सेवा विस्तार, सामाजिक सुरक्षा सुदृढीकरण तथा स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्नुभएको हो । सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि १५ अर्ब रुपियाँ विनियोजन गरेको छ । हाल वार्षिक २४ अर्बभन्दा बढी खर्च भइरहेको स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्संरचना गर्दै आगामी वर्षसम्म ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउने लक्ष्य लिएको छ ।

विपन्न नागरिक उपचार तथा स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका लागि १३ अर्ब रुपियाँ छुट्याइएको छ । यसै गरी निर्माणाधीन ३३६ आधारभूत अस्पताल आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने सरकारको घोषणा छ । आधारभूत अस्पताल निर्माणका लागि मात्रै पाँच अर्ब ९० करोड रुपियाँ विनियोजन गरिएको छ ।

सरकारले सातै प्रदेशका सरकारी अस्पताललाई क्रमशः शिक्षण अस्पतालका रूपमा विकास गर्ने भएको छ । प्रस्तुत बजेटमा राष्ट्रिय ट्रमा नीति जारी गर्नुका साथै आधारभूत स्वास्थ्य सेवा कार्यक्रमको नयाँ प्याकेज कार्यान्वयनमा ल्याउने अर्थमन्त्री वाग्लेले बताउनुभयो ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम क्षेत्रमा टेलिमेडिसिन स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिने छ । स्वास्थ्य सेवा तथा औषधीको गुणस्तर सुनिश्चित गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन केन्द्र स्थापना गरिने छ । वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विस्तार गरी जलनका बिरामीका लागि सघन उपचार सेवा सुदृढ बनाइने उहाँले उल्लेख गर्नुभयो ।

यस्तै मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र तथा ट्रमा सेन्टर निर्माण गर्ने घोषणा पनि सरकारले गरेको छ । सरकारी अस्पतालमार्फत बाल क्यान्सरको निःशुल्क उपचार गरिने भएको छ ।

– सरोज ढुङ्गेल