काठमाडौँ, भदौ २० गते । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा निर्जीवन बिमा व्यवसाय २३ प्रतिशतले बढेको छ।
साउन महिनामा निर्जीवन बिमा कम्पनीहरूले कुल ५ अर्ब ४० करोड १५ लाख रुपियाँ बिमाशुल्क सङ्कलन गरेका छन्, जुन अघिल्लो आवको सोही अवधिमा ४ अर्ब ३९ करोड ६७ लाख रुपियाँ रहेको थियो। साउनमा सर्वाधिक बिमाशुल्क सङ्कलन गर्नेमा हिमालयन एभरेस्ट (५६ करोड २५ लाख रुपियाँ), सगरमाथा लुम्बिनी र एनएलजी इन्स्योरेन्स क्रमशः अगाडि रहेका छन्।
व्यावसायिक क्षेत्रका आधारमा कुल बिमा व्यवसायमा सम्पत्ति बिमा (३०.७६%) र मोटर बिमा (२२.६४%) को हिस्सा सबैभन्दा ठुलो रहेको छ। साउनमा सम्पत्ति बिमाबाट १ अर्ब ६५ करोड ७५ लाख रुपियाँ र मोटर बिमाबाट १ अर्ब २२ करोड २९ लाख रुपियाँ बिमाशुल्क सङ्कलन भएको छ। यसका साथै इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमाबाट ७५ करोड ८७ लाख रुपियाँ सङ्कलन भएको प्राधिकरणले जनाएको छ।
व्यवसाय विस्तारमा उत्साह देखिए पनि हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण बिमा क्षेत्रमा ठुलो जोखिम थपिएको छ। बाढीका कारण मात्रै करिब २५ अर्ब ८७ करोड रुपियाँको प्रारम्भिक बिमा दाबी परेपछि कम्पनीहरूका लागि एक महिनाको कुल व्यवसायभन्दा कैयौँ गुणा ठुलो दाबी दायित्व सिर्जना भएको छ। यसले गर्दा अहिले निर्जीवन बिमा बजारमा ‘व्यवसाय वृद्धि‘ भन्दा ‘जोखिम व्यवस्थापन‘ मुख्य चुनौती बनेको छ।
प्रदेशगत रूपमा हेर्दा निर्जीवन बिमाको पहुँच अझै पनि सहरी तथा सीमित क्षेत्रमै केन्द्रित रहेको देखिएको छ। साउन महिनामा सङ्कलित कुल बिमाशुल्कको करिब ७० प्रतिशत (३ अर्ब ८० करोड ६६ लाख रुपियाँ) बागमती प्रदेशबाट मात्रै उठेको छ भने कर्णाली प्रदेशबाट ३ करोड ९८ लाख रुपियाँ मात्रै सङ्कलन भएको छ, जसले बिमा पहुँचको असमान वितरणलाई उजागर गर्छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























