

काठमाडौँ, भदौ १७ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पुगेको क्षतिपछि परेका बिमा दाबीको भुक्तानी प्रक्रियालाई सरल र सहज बनाउन निर्देशन दिनुभएको छ।
नेपाल बिमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा सम्पन्न उच्चस्तरीय छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले प्राकृतिक विपत्को यस कठिन घडीमा पीडितको घाउमा मलम लगाउन र झन्झटिलो कागजी प्रक्रिया त्यागेर द्रुत भुक्तानी दिन बिमा कम्पनीहरूलाई आग्रह गर्नुभयो। बिमा कम्पनीहरूलाई कुनै समस्या परे सरकारले सहयोग गर्न तयार रहेको समेत उहाँले स्पष्ट पार्नुभयो।
आजको बैठकले साना तथा प्रारम्भिक बिमा दाबीका लागि कागजी झन्झट घटाउँदै द्रुत भुक्तानी (Fast-Track) प्रणाली अपनाउने निर्णय गरेको छ। त्यस्तै, पूर्ण मूल्याङ्कन हुन समय लाग्ने जलविद्युत् आयोजना तथा ठुला पूर्वाधारहरूको क्षतिमा बिमितको नगद प्रवाह (Cash Flow) सहज बनाउन तत्काल पेस्की-स्वरूप रकम भुक्तानी दिइने भएको छ।
यसैगरी, क्षति मूल्याङ्कनका लागि सर्भेयर परिचालनलाई चुस्त र पारदर्शी बनाउन नेपाल बिमा प्राधिकरणले प्रणालीमार्फत स्वचालित रूपमा सर्भेयर खटाउने व्यवस्था मिलाउने निर्णय गरेको छ। दाबी भुक्तानीको दैनिक अनुगमन र सहजीकरणका लागि प्राधिकरणमा विशेष कार्यदल (Task Force) समेत गठन गरिनेछ। बैठकमा बिमा प्राधिकरणका अध्यक्ष, विभिन्न बिमा तथा पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र सर्भेयर सङ्घका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























