10/27/2026, 17:27:36
मङ्गलबार, कार्तिक ११, २०८३

एनपीएलमा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर किंग्स ८ रनले पराजित


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोश्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा सबै विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो। चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको थियो। टोलीको इनिङ्समा डेभिड मलानले सर्वाधिक ७० रनको योगदान दिए। उनले ५० बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे। यस्तै, कप्तान रवि बोपाराले अविजित ३२ रन बनाए भने ड्यान माउस्लीले २२ बलमा अविजित २९ रन जोडे। देव खनालले १२ रन बनाए। चितवनका अर्जुन साउद तीन रनमा आउट भए। विराटनगरका बलरमध्ये एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले समान एक विकेट लिए।

विराटनगरको प्रयास सफल भएन

१५८ रनको लक्ष्य पछ्याएको विराटनगरले सुरुआतमा केही राम्रो ब्याटिङ गरे पनि त्यसलाई जितमा बदल्न सकेन। इमरान शेखले सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा चार चौका र दुई छक्का प्रहार गरे। लोकश बमले १४ बलमा २६ रन बनाए भने आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ३३ रन जोडे। रसेलले एक चौका र चार छक्का प्रहार गरे।

तर, मध्यक्रम र तल्लो क्रमका ब्याटरले निरन्तरता दिन नसक्दा विराटनगर लक्ष्यभन्दा आठ रन टाढा रह्यो। चरिथ असलंकाले आठ, बसिर अहमदले १३ र एन्जेलो म्याथ्युजले १४ रन बनाए। चितवनका बलर कमल ऐरीले चार ओभरमा २६ रन खर्चेर सर्वाधिक चार विकेट लिए। रिजन ढकालले दुई विकेट लिए भने रञ्जित कुमार, ड्यान माउस्ली, मौसुम ढकाल र टम टेलरले समान एक विकेट हात पारे। चितवनको जितमा मलानको अर्धशतक र ऐरीको प्रभावशाली बलिङ निर्णायक बन्यो। विराटनगरले अन्तिम ओभरसम्म प्रतिस्पर्धा गरे पनि लक्ष्य भेट्टाउन सकेन।