09/01/2026, 14:05:40
मङ्गलबार, भदौ १६, २०८३

नेपालगन्ज नाकाबाट अयोध्या, गोरखपुर र बनारसका लागि सोझै ब्रोडगेज रेल सेवा सुरु


नेपालगन्ज, भदौ १६ गते । बाँकेस्थित नेपाल-भारत सीमा नजिकैको नेपालगन्ज रोडबाट भारतका प्रमुख धार्मिक सहरहरू अयोध्या, गोरखपुर र बनारसका लागि सोझै ब्रोडगेज रेल सेवा सुरु भएको छ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतका केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले सोमबार संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्नुभएको हो। लामो समयको पर्खाइपछि सञ्चालनमा आएको यस रेल सेवाले दुई देशबीच धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै व्यापार व्यवसाय अभिवृद्धिमा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।

पर्यटन प्रवर्द्धन मञ्च, बाँकेका अनुसार यो रेल सेवाले नेपालबाट अयोध्याको राम मन्दिर, गोरखपुरको गोरखधाम र बनारसको विश्वनाथ मन्दिर जाने नेपाली तीर्थयात्रीहरूलाई ठूलो सहजता पुर्‍याउनेछ।

त्यसैगरी, भारतबाट नेपालगन्जको बागेश्वरी मन्दिर, प्युठानको स्वर्गद्वारी र कैलाश मानसरोवर यात्रामा जाने भारतीय पर्यटकहरूलाई समेत आवतजावत गर्न निकै सरल हुनेछ। यसबाट पश्चिम नेपालमा ठूलो सङ्ख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने विश्वास लिइएको छ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज नजिकैबाट यति महत्त्वपूर्ण रेल सेवा सञ्चालन हुनुले यसको प्रत्यक्ष र पहिलो लाभ नेपालगन्ज सहरले नै पाउने बताउनुभयो। यसले क्षेत्रको धार्मिक पर्यटन विकासका साथै समग्र आर्थिक गतिविधि बढाउन ठूलो टेवा पुर्‍याउने उहाँको भनाइ छ।