

गुलरिया (बर्दिया), जेठ २१ गते ।धानको ब्याड राख्ने समय घर्किसक्दा पनि रासायनिक मल नपाएपछि बर्दियाको किसानले रासायनिक मलबिना नै धानको ब्याड राखेका छन् ।
मलको लागि दिनभरी धाउँदा समेत मल नपाएपछि उनीहरूले मलबिना नै धानको ब्याड राखेका हुन् । गेरुवा गाउँपालिका–६, नौरङ्गाका ४५ वर्षीय सौनु थारूले यस वर्ष धान ब्याड रासायनिक मलबिना नै राख्नुभयो ।
मल खोज्न सहकारीमा गए पनि रित्तो हात फर्किएको उहाँले बताउनुभयो । “अहिले मल छैन आउँछ कि आउन्न भर छैन भने” उहाँले भन्नुभयो, “केही दिन कुरेँ, मल नआउने नै भएपछि मलबिना नै ब्याड राखें ।”
गत वर्ष एक बोरा मल तीन जनाले बाँडेको बताउँदै रासायनिक मलको अभावमा मिहिनेत अनुसारको खेती नहुने गरेको गुनासो गर्नुभयो । मरी–मरी दुःख गर्यो समयमा मल पाइँदैन भनेजति खेती हुँदैन । उहाँले दुखेसो पोख्नुभयो । ७ कट्ठा मात्र जग्गा भएका सौनुले अरूको जग्गा ठेक्का र अधिँया गरेर साढे चार बिघा जग्गामा खेती गर्नु हुन्छ ।
एक बिघामा एक बोरा मल हाले पनि ५ बोरा जति डिएपी र १० बोरा युरिया मल चाहिने बताउँदै उहाँले भन्नुभयो, “एक बोरा तीन जनाले बाँडेर ल्याएपछि कसरी खेती हुन्छ ।” बढैयाताल गाउँपालिका–६ का जगतु थारूले पनि यस वर्ष मल नपाएर मलबिना नै ब्याड राखेको दुखेसो गर्नुभयो ।
यस वर्ष मल आउने कुरामा ढुक्क हुन नसकेको उहाँले बताउनुभयो । मल आएपनि एक बोरा कति जनाले बाँड्नु पर्ने हो । उहाँले भन्नुभयो, “समयमा चाहिएजति मल पाए किसानलाई ठुलो राहत हुने थियो ।”
मल वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनि लिमिटेड शाखा कार्यालय बर्दियाका प्रबन्धक दिनेश खनालले अहिले गोदाममा युरिया र पोटास भए पनि डिएपी एकदमै कम भएको बताउनुभयो । हाल एक हजार दुई सय ४४ मेट्रिक टन युरिया र तीन सय ५२ मेट्रिक टन डिएपी गोदाममा रहेको बताउँदै बिक्रीका लागि प्रदेशबाट आदेश नआएको बताउनुभयो ।
डिएपी त बाँड्न नसकिने मात्रामा रहेको बताउँदै यस वर्ष युरिया ५ हजार ५०० मेट्रिक टन युरिया, तीन हजार मेट्रिक टन डिएपी र एक सय मेट्रिक टन पोटास बिक्री गरिएको बताउनुभयो ।
यता साल्ट ट्रेडिङ्क कर्पोरेसन गुलरियाका प्रमुख प्रविणजङ्ग शाहकाले मागको ३० प्रतिशत मात्र कर्पोरेसनले वितरण गर्ने व्यवस्था भएको बताउनुभयो । उहाँले मल भैरहवामा आएको बताउँदै केही दिनमा बर्दिया आउने बताउनुभयो ।
बर्दिया जिल्लामा वार्षिक १२ हजार मेट्रिक टन युरिया, ७ हजार मेट्रिक टन डिएपी र एक हजार मेट्रिक टन पोटास आवश्यक पर्ने अनुमान गरिएको छ । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाका कृषि प्रसार अधिकृत सेतीराम बबालका अनुसार धानको लागि मात्र युरिया नौ हजार पाँच सय १९ मेट्रिक टन, डिएपी तीन हजार दुई सय ५६ मेट्रिक टन र पोटास दुई हजार पाँच सय मेट्रिक टन आवश्यक पर्छ । बर्दियामा ५० प्रतिशत मात्र रासायनिक मलको आपूर्ति हुने गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































