कुश्मा (पर्वत), जेठ ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं संघीय संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले अन्याय र अत्याचारको जालो तोड्न जनताले करिब दुई तिहाइ मत दिएर जिताएकाले जनहितमा नरहेका पुराना परिपाटीलाई तोडेरै छाड्ने बताउनुभएको छ।
पर्वतको कुश्मामा शुक्रबार आयोजित पार्टीको जिल्ला अधिवेशन विशेष तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले सरकारले ल्याएको अध्यादेश र संविधान संशोधनको विषयको बचाउ गर्दै सो कुरा बताउनुभएको हो।
विपक्षी दलले संसद्मा प्रधानमन्त्री उपस्थित भई सरकारको नीति तथा कार्यक्रमबारे स्पष्ट पार्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गरेको प्रसंगतर्फ संकेत गर्दै महामन्त्री बुर्लाकोटीले भन्नुभयो, “हामीलाई बोल्नुभन्दा काम गर्नु महत्त्वपूर्ण छ। भैँसी कति करायो भन्नुभन्दा पनि दूध कति दिन्छ भन्ने कुरा महत्त्वपूर्ण हो।”


त्यसैगरी सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको विषय उपयुक्त रहेको तर्फ संकेत गर्दै नेता बुर्लाकोटीले त्यसको बचाउमा भन्नुभयो, “कुरीति, संस्कार र अव्यवस्थालाई तोड्न खोज्दा परम्परामा यस्ता कुराहरू छैनन् भन्दै पुराना शक्तिहरूले भाँजो हाल्ने प्रपञ्च गरिरहेका छन्। हामी त्यसरी पर्खेर बस्न सक्दैनौँ। आमजनताको हितमा नरहेका कुरा तोडेरै छाड्छौँ। जनता र देशको हितका लागि शासन व्यवस्थालाई बदलेरै छाड्छौँ।” महामन्त्री बुर्लाकोटीले एक सय दिनमा एक सय वटा काम जनतालाई गरेर देखाउने वाचा अनुरूप सरकार अगाडि बढेको दाबीसमेत गर्नुभयो।
सो कार्यक्रममा बोल्दै पर्वतका सांसद एवं रास्वपा नेता सागर भुसालले संसद्मा आफूले जिल्लाको समसामयिक बाँदर आतङ्क, पर्यटन र उद्यमको सम्भावना, कृषि लगायतका मुद्दाहरू उठाएको र आगामी दिनमा पनि जिल्लाको समग्र हितको पक्षमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सांसद भुसालले जिल्लामा पार्टीको सांगठनिक संरचनालाई मजबुत बनाउनका लागि ‘हाम्रा भन्दा पनि राम्रा’ मानिसलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो। जिल्ला अधिवेशनको सन्दर्भमा पार्टी संगठनमा नयाँ र पुरानो अनुहारको रूपमा भेद नगरी योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिन उहाँले जिल्ला नेतृत्वलाई आग्रह गर्नुभयो।
‘जिल्ला अधिवेशन विशेष तथा पार्टी प्रवेश कार्यक्रम’ नाम दिइएको सो समारोहमा विभिन्न पार्टी परित्याग गरी करिब ३०० जना व्यक्तिहरू रास्वपामा प्रवेश गरेको रास्वपाका युवा नेता गौरव क्षेत्रीले जानकारी दिनुभयो। कार्यक्रममा पार्टी कार्यकर्ताका साथै शुभेच्छुकहरूको उत्साहप्रद सहभागिता रहेको थियो।
– प्रनिश गिरी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































