04/28/2026, 16:24:47
मङ्गलबार, बैशाख १५, २०८३

चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न अदालतको अन्तरिम आदेश


काठमाडौँ, वैशाख १५ गते । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि स्थगित गर्न अदालतले आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही वैशाख २२ गतेसम्म चलचित्र प्रदर्शन नगर्न अन्तरिम आदेश दिएको हो ।

वादी समुदायका तर्फबाट रोशनी नेपालीले चलचित्रमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् । सोही मुद्दाको प्रारम्भिक सुनुवाइपछि अदालतले प्रदर्शन रोक्ने आदेश दिएको जनाइएको छ ।

निर्देशक यम थापाको निर्देशनमा बनेको यो चलचित्र वैशाख १८ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको थियो ।

षट्कोण आर्टसको निर्माण रहेको ‘लालीबजार’ वादी समुदायका महिलाले भोग्ने संघर्ष र जीवन कथामा आधारित रहेको बताइएको छ ।

यसअघि सोमबार मात्र केन्द्रीय चलचित्र जाँच समितिले उक्त चलचित्रलाई युनिभर्सल प्रमाणपत्र प्रदान गरिसकेको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..