

म्याग्दी, भदौ ७ गते । लोकप्रिय लोकगायक प्रकाश दुतराजले मौलिक लोकभाका, पञ्चेबाजा र सांस्कृतिक बाजासहित नयाँ सांगीतिक ब्यान्डमार्फत आफ्नो सांगीतिक यात्रा अघि बढाउने हुनुभएको छ। अहिलेसम्म एकल (सोलो) गायकका रूपमा दर्शकको मन जित्नुभएका दुतराजले आगामी भदौ १२ गते जन्मथलो म्याग्दीको बेनीस्थित खुलामञ्चबाट ब्यान्डको औपचारिक शुभारम्भ गर्दै हुनुहुन्छ।
पप र आधुनिक विधामा ब्यान्डको अभ्यास भए पनि मौलिक लोकभाका र पञ्चेबाजालाई समेटेर ब्यान्ड निर्माण गरिएको यो पहिलो अभ्यास हो। जनैपूर्णिमाका दिन आयोजना हुने उक्त निःशुल्क लाइभ कन्सर्टपछि देशका विभिन्न सहर तथा अन्तर्राष्ट्रियस्तरसम्म सांगीतिक यात्रा पुर्याउने र प्राप्त सहयोगबाट असहाय तथा विपन्न समुदायलाई सहयोग गर्ने योजना रहेको छ।
‘रिमै’, ‘जाम भो माइली’, र ‘घर कता हो बैनीको’ जस्ता चर्चित गीतका स्रष्टा दुतराजको यो प्रयासलाई लोक-संस्कृतिको संरक्षण र प्रवर्धनमा एक महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। म्याग्दी उद्योग वाणिज्य संघ र मोना नेपालसहित विभिन्न संघ-संस्थाहरूले यस सांगीतिक अभियानलाई सहयोग गरेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























