08/24/2026, 20:43:18
सोमबार, भदौ ०८, २०८३

प्रतिनिधिसभाद्वारा विभिन्न चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा प्रेषित


काठमाडौँ, भदौ ८ गते । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न चारवटा विधेयकहरूलाई दफावार छलफलका लागि सर्वसम्मतिले सम्बन्धित समितिमा पठाएको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई समितिमा पठाउन प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

यसैगरी परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ र उद्योगमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिजपदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्तुत गर्नुभएको प्रस्ताव पनि सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि भदौ ९ गते मङ्गलबार अपराह्न १ बजे बस्नेछ ।