08/15/2026, 10:48:06
शनिबार, साउन ३०, २०८३

देशभर प्रदर्शनमा आयो ‘लज्जावती’: श्रीकृष्ण निरौला ‘पागलप्रेमी’ को भूमिकामा


काठमाडौँ, साउन ३० गते । नेपालीपनको मौलिक मायाप्रेम र त्यसमा आउने विविध उतारचढावको कथामा आधारित नयाँ नेपाली चलचित्र ‘लज्जावती’ शुक्रबारदेखि देशभरका सिनेमा घरहरूमा एकसाथ प्रदर्शनमा आएको छ।

राजबहादुर सानेको निर्देशनमा बनेको यो चलचित्रले धेरै नेपालीको वास्तविक जीवनसँग मेल खाने प्रेमकथालाई प्रस्तुत गरेको छ। जीवनमा पहिलो पटक मायामा पर्दा भोग्नुपर्ने पीडा, अनुभूति र सम्बन्धका उतारचढावलाई पर्दामा उतार्दै साँचो प्रेमको परिभाषा बुझाउने प्रयास चलचित्रले गरेको छ।

यस चलचित्रमा अभिनेता श्रीकृष्ण निरौला एक ‘पागलप्रेमी’ को मुख्य भूमिकामा प्रस्तुत हुनुभएको छ। आहा फिल्म्स प्रा.लि.को प्रस्तुति र सौरभ वलीको निर्माण रहेको यस चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, विनोद श्रेष्ठ, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम तथा विशाल पहारी लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ।

प्रेम र संवेदनाको मिहीन कथा समेटिएको यो चलचित्रले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।