08/25/2026, 15:50:38
मङ्गलबार, भदौ ०९, २०८३

कोशीमा पत्रकार दुर्घटना बिमा सुरु, सत्य र तथ्यमा आधारित पत्रकारितामा मुख्यमन्त्रीको जोड


विराटनगर, भदौ ९ गते । विराटनगरमा आयोजित एक कार्यक्रमका बीच नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा सञ्चालित ‘पत्रकार दुर्घटना बिमा’ कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश र समाजको हितका लागि सत्य र तथ्यमा आधारित पत्रकारिता आवश्यक रहेको बताउनुभएको छ। उहाँले बिमा कम्पनीहरूलाई बीमितको भुक्तानी सहज बनाउन आग्रह गर्दै प्रदेश सञ्चार प्रतिष्ठानमार्फत पत्रकारको हक-हितका काममा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकारिता जोखिमपूर्ण पेसा भएकाले दुर्घटना बिमाबाट पत्रकारहरू लाभान्वित हुने बताउनुभयो। उहाँका अनुसार प्रदेश सरकारको पूर्ण आर्थिक सहयोगमा कोशी प्रदेशका १,२०० जना पत्रकारको एक वर्षका लागि राष्ट्रिय बिमा कम्पनी लिमिटेडमार्फत दुर्घटना बिमा गरिएको छ र महासङ्घको आवश्यकतानुसार यो कार्यक्रमलाई निरन्तरता दिइनेछ।

महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा सम्पन्न उक्त शुभारम्भ समारोहमा महासङ्घका पदाधिकारी तथा बिमा कम्पनीका प्रतिनिधिहरूले पत्रकारको व्यावसायिक सुरक्षा, हकहित र बिमाको प्रभावकारी कार्यान्वयनका विषयमा आ-आफ्नो धारणा राख्नुभएको थियो।