08/25/2026, 09:20:00
मङ्गलबार, भदौ ०९, २०८३

बिमा पोलिसी बिक्रीमा भ्रामक प्रचार नगर्न बिमा प्राधिकरणको कडा निर्देशन


काठमाडौँ, भदौ ९ गते । नेपाल बिमा प्राधिकरणले जीवन तथा लघु जीवन बिमा कम्पनीहरूलाई बिमा पोलिसी बिक्री गर्दा भ्रमपूर्ण प्रचारप्रसार नगर्न कडा निर्देशन दिएको छ।

प्राधिकरणले बिमा योजनालाई ‘फिक्स्ड डिपोजिट’, ‘ब्याज दिने योजना’, ‘डबल मनी योजना’ वा ‘निश्चित लगानी प्रतिफल‘ जस्ता नाममा प्रचार गरी बिक्री गर्न स्पष्ट रूपमा रोक लगाएको छ। बिमा आर्थिक जोखिम हस्तान्तरण र वित्तीय सुरक्षासँग सम्बन्धित संवेदनशील सेवा भएकाले बिमितलाई सही, स्पष्ट र तथ्यपरक सूचना मात्र उपलब्ध गराउन परिपत्रमार्फत सचेत गराइएको छ।

प्राधिकरणका अनुसार बिमालेखका स्वीकृत सर्त र लाभभन्दा बाहिर गएर निश्चित बोनस वा प्रतिफलको आश्वासन दिन पाइने छैन।

साथै, अभिकर्ताहरूले कम्पनीले स्वीकृत गरेका सामग्रीबाहेक आफूखुसी सामाजिक सञ्जाल वा अन्य माध्यमबाट प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरिएको छ। बिमा प्रस्ताव पेस गर्दा यो ‘फिक्स्ड डिपोजिट’ होइन भन्ने स्पष्ट बुझाएर मात्र ग्राहकको आवश्यकता, आर्थिक क्षमता र उमेरका आधारमा उपयुक्त योजना सिफारिस गर्न निर्देशन दिइएको छ।

परिपत्र उल्लङ्घन गरी गलत सूचना दिने, भ्रामक प्रचार गर्ने वा वास्तविक प्रकृति लुकाउने बिमक तथा अभिकर्तामाथि बिमा ऐन, २०७९ बमोजिम कारबाही हुने चेतावनी दिइएको छ। बिमा अभिकर्ताहरूले आफू आबद्ध कम्पनीको मात्र व्यवसाय गर्नुपर्ने र अन्य कम्पनीबारे अवाञ्छित टिप्पणी गर्न नपाइने नियमसमेत कडाइका साथ लागू गरिएको छ। भ्रामक बिक्रीसम्बन्धी आएका गुनासोहरूको छुट्टै अभिलेख राखी प्रत्येक त्रैमासमा प्राधिकरणमा विवरण पेस गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।