08/25/2026, 17:36:15
मङ्गलबार, भदौ ०९, २०८३

नेपालमै डिजाइन र निर्माण भएको ‘Yatri P2’ विद्युतीय स्कुटर सार्वजनिक


काठमाडौँ, भदौ ९ गते । नेपालमा डिजाइन तथा निर्माण गरिएको नयाँ विद्युतीय स्कुटर ‘Yatri P2’ सार्वजनिक भएको छ। Sipradi Electric Vehicles र Yatri Design Studio को संयुक्त सहकार्यमा तयार भएको P2 सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गर्नुभएको हो।

कम्पनीका अनुसार P2 नेपालमै डिजाइन गरिएको पहिलो ब्रान्डेड विद्युतीय स्कुटर हो। यसमा १० किलोवाटसम्मको शक्ति उत्पादन गर्ने Mid-drive PMSM मोटर जडान गरिएको छ। स्कुटरको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ भने यसले ३१५ Nm ह्विल टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ।

तीन ब्याट्री विकल्प

Yatri P2 का ब्याट्री विकल्प र रेन्ज

ब्याट्री क्षमतासामान्य रेन्ज
३.० kWh९० किलोमिटर
३.७ kWh११२ किलोमिटर
५.२ kWh१५७ किलोमिटर
१.८ kWh Range Extender सहितअधिकतम २०७ किलोमिटर

 

कम्पनीका अनुसार अतिरिक्त १.८ kWh Range Extender जडान गर्दा थप ५० किलोमिटरसम्म रेन्ज बढाउन सकिन्छ। यससँगै अधिकतम रेन्ज २०७ किलोमिटर पुग्ने बताइएको छ।

स्कुटरमा DC फास्ट चार्जिङ सुविधा रहेको छ। यसबाट ब्याट्री ४१ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ। त्यस्तै, १,३५० वाटको अनबोर्ड AC चार्जरबाट पूर्ण चार्ज गर्न २.५ घण्टाभन्दा कम समय लाग्ने कम्पनीको दाबी छ।

अत्याधुनिक प्रविधि

Yatri P2 मा ७ इन्चको TFT डिस्प्ले, 4G कनेक्टिभिटी, Apple CarPlay र Android Auto जस्ता सुविधा समावेश छन्। यसमा दुर्घटना वा स्कुटर ढल्दा स्वचालित रूपमा पावर बन्द गर्ने तथा आपत्कालीन अवस्थामा स्थान जानकारी पठाउने सुविधा पनि राखिएको छ।

त्यस्तै, Location Tracking, Movement Alert र Remote Immobilisation सहितको Anti-theft System, तीनवटा Ride Mode, Hill Hold Assist तथा ३० लिटरको स्टोरेज क्षमता उपलब्ध रहेको कम्पनीले जनाएको छ।

धादिङमा उत्पादन प्लान्ट

Yatri P2 को उत्पादनका लागि धादिङको गजुरीमा उत्पादन प्लान्ट स्थापना भइरहेको छ। अर्थमन्त्री डा. वाग्लेले नेपालमै डिजाइन र उत्पादन हुने यस्ता विद्युतीय सवारीलाई सरकारले ‘Make in Nepal’ अभियानअन्तर्गत आवश्यक सहयोग गर्ने बताउनुभएको छ।

उहाँले नेपाली कम्पनीले विदेशी ब्रान्डसँग गुणस्तर र प्रविधिमा प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ।

Sipradi Trading का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले P2 केवल नयाँ स्कुटर सार्वजनिक गर्ने कार्यक्रम नभई नेपालमै विकास गरिएको उत्पादनलाई बजारमा ल्याउने महत्वपूर्ण सुरुवात भएको बताउनुभयो। उहाँका अनुसार Sipradi र Yatri बीचको सहकार्यबाट आगामी दिनमा थप उत्पादन तथा नेपाली प्रविधिलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ।

Yatri Design Studio का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आसिम पाण्डेका अनुसार P2 नौ वर्षको नेपाली इन्जिनियरिङ अनुभवको परिणाम हो। स्कुटरको मोटर, ब्याट्री आर्किटेक्चर र सफ्टवेयर नेपालमै डिजाइन तथा परीक्षण गरिएको उहाँले बताउनुभयो।

सेप्टेम्बरमा मूल्य सार्वजनिक हुने

Yatri P2 को प्रि-बुकिङ यसै साता काठमाडौँमा सुरु हुने NADA Auto Show बाट खुला गरिने कम्पनीले जनाएको छ। स्कुटरको मूल्य भने सेप्टेम्बर २०२६ मा हुने व्यावसायिक लन्चका क्रममा सार्वजनिक गरिनेछ।

कम्पनीका अनुसार ३.७ kWh र ५.२ kWh संस्करणको डेलिभरी अक्टोबर २०२६ को मध्यदेखि सुरु भएर नोभेम्बरसम्म हुनेछ भने ३.० kWh संस्करणको डेलिभरी डिसेम्बर २०२६ बाट सुरु हुनेछ।