08/21/2026, 15:26:14
शुक्रबार, भदौ ०५, २०८३

ओस्कार अवार्डका लागि नेपाली चलचित्रको आवेदन खुल्यो


काठमाडौँ, भदौ ५ गते । नेपाल इन्टरनेसनल फिचर चलचित्र छनोट समिति–२०२६ ले ९९ औँ एकेडेमी अवार्ड (ओस्कार) मा ‘अन्तर्राष्ट्रिय फिचर चलचित्र‘ विधाका लागि आवेदन आह्वान गरेको छ। मापदण्ड पूरा गरेका इच्छुक नेपाली चलचित्र निर्माताहरूले भदौ २२ गतेभित्र आफ्नो आवेदन पेस गर्नुपर्नेछ। ९९ औँ ओस्कार अवार्ड आगामी २०८३ फागुन ३० गते आयोजना हुने तय भएको छ।

ओस्कारमा सहभागिताका लागि चलचित्रले नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिबाट प्रमाणीकरण पाएको हुनुपर्नेछ। साथै, २०८२ असोज १५ देखि २०८३ असोज १४ गतेसम्म नेपालका व्यावसायिक सिनेमाघरमा कम्तीमा लगातार सात दिन प्रदर्शन भएका चलचित्र मात्र यसका लागि योग्य मानिनेछन्। तर, टेलिभिजन, स्ट्रिमिङ वा अन्य डिजिटल माध्यममा पहिले रिलिज भएका चलचित्र प्रतिस्पर्धामा सामेल हुन पाउने छैनन्।

यस प्रतिस्पर्धाका लागि चलचित्रका निर्देशक, लेखक वा निर्मातामध्ये कम्तीमा एक जना नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ। यसका साथै, चलचित्रमा नेपाली परिवेश झल्किएको, ५० प्रतिशतभन्दा बढी संवाद नेपाली भाषामा भएको र स्पष्ट बुझिने अङ्ग्रेजी ‘सबटाइटल’ राखिएको हुनु अनिवार्य छ।