11/13/2026, 22:45:02
शुक्रबार, कार्तिक २८, २०८३

आस्था र निष्ठाको महान पर्व ‘छठ’ सुरु : कात्तिक २९ गते अस्ताउँदो र ३० गते उदाउँदो सूर्यलाई अर्घ दिइने

विधि विधानसहित सुरु भएको चारदिने छठ पर्वअन्तर्गत पहिलो दिन नहाय–खाय र अरबाइन गरी मनाइँदै छ भने यस वर्ष कात्तिक २९ गते साँझ र ३० गते बिहान सूर्यलाई अर्घ अर्पण गरिनेछ।


काठमाडौँ, कात्तिक २७ गते । तराईदेखि पहाड र हिमाली क्षेत्रसम्म धुमधामका साथ मनाइने सूर्य उपासनाको महापर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी चोखो खाएर बस्ने परम्परासँगै सुरु हुने यस पर्वको पहिलो दिनलाई ‘अरबाइन’ वा ‘अरबा’ भनिन्छ।

यस दिनदेखि छठ पर्व पूर्ण रूपमा सम्पन्न नभएसम्म बर्तालुहरूले माछा, मासु, लसुन, कोदो, फापर तथा मुसुरोको दाल लगायतका खाद्यवस्तु पूर्ण रूपमा त्याग गर्ने कड़ा नियम पालना गर्छन्। मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ महिला तथा पुरुषहरूले यस पर्वमा अत्यधिक निष्ठा र कठोर व्रत बस्ने गरेका छन्।

पर्वको दोस्रो दिन पञ्चमीका दिन निर्जल उपवास बसी बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरेर एक छाक खाने गरिन्छ, जसलाई ‘खरना’ भनिन्छ। त्यसपछि मुख्य दिन अर्थात् षष्ठीका दिन बर्तालुहरूले ठेकुवा, विभिन्न प्रकारका फलफूल, मिठाई र सूर्यको रथका पाङ्ग्रा अङ्कित विशेष रोटीहरू बाँसको टोकरीमा सजाएर नदी तथा तलाउ किनारमा पुग्छन्। साँझपख डुब्न लागेका सूर्यलाई अर्घ दिई प्रणाम गरेपछि राति नदी किनारमै भजन–कीर्तन र मनोरञ्जन गर्दै रात बिताउने चलन छ।

यस वर्ष कात्तिक २९ गते आइतबार बेलुकी अस्ताउँदो सूर्यलाई र कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेर यो चारदिने पर्व समापन हुनेछ।

सप्तमीका दिन बिहान ४ः०० बजेदेखि नै प्रतीक्षा गरी गाईको दूध, फूल र जलले उदाउँदो सूर्यलाई अर्घ दिइने यस पूजालाई ‘भिन्सरघाट’ भनिन्छ। सूर्योदयकालमा कम्मरसम्मको पानीमा डुबेर सूर्यको दर्शन गर्ने विधि रहेको छ। पृथ्वीका सम्पूर्ण जीवको सञ्चालन र संरक्षण जल तथा सूर्यबाटै हुने भएकाले नदीलाई माता र सूर्यलाई सम्पूर्ण शक्तिको प्रमुख स्रोतका रूपमा मानेर विशेष पूजा गर्ने गरिएको छ।

धर्मशास्त्रविद् एवं पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार कात्तिक शुक्ल पक्षमा सूर्यको उपासना गर्नाले मानिसको मनोकाङ्क्षा पूरा भई इच्छित फल प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।

छठ पूजा समिति गुह्येश्वरीका उपाध्यक्ष राजकुमार पोद्दारका अनुसार सन्तान प्राप्तिको कामना गर्ने दम्पतीहरू यस पर्वमा सबैभन्दा बढी सहभागी हुने गरेका छन् भने छालासम्बन्धी रोगबाट मुक्तिको कामना गर्नेहरूको सङ्ख्या पनि निकै ठुलो छ।

महाभारतकालमा पाण्डवहरूले अज्ञातवास सफल बनाउन सूर्यदेवको आराधना गरेको पौराणिक विश्वासमा आधारित यो पर्वले पारिवारिक सुस्वास्थ्य, दीर्घायु, आपसी सद्भाव र सामाजिक एकताको सन्देश दिने गरेको छ।

विवरण तथ्य / जानकारी
पर्वको नाम छठ पर्व (चार दिनसम्म सञ्चालन हुने)
अस्ताउँदो सूर्यलाई अर्घ कात्तिक २९ गते, आइतबार साँझ
उदाउँदो सूर्यलाई अर्घ कात्तिक ३० गते, सोमबार बिहान
प्रमुख विधिहरू अरबाइन (पहिलो दिन), खरना (दोस्रो दिन), भिन्सरघाट (अन्तिम दिन)
व्रतको मुख्य उद्देश्य सन्तान प्राप्ति, पतिको दीर्घायु, स्वास्थ्य लाभ र मनोकाङ्क्षा पूरा