काठमाडौँ, कात्तिक २७ गते । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबार सम्पन्न रोमाञ्चक खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै प्ले अफमा पुग्ने आफ्नो आशालाई जिवितै राखेको छ।
टस जितेर ब्याटिङ रोजेको पहिलो सिजनको च्याम्पियन जनकपुरले ब्याटिङका लागि कठिन बनेको पिचमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ८८ रनको सामान्य योगफल तयार पारेको थियो।
जवाफमा चितवनले १७.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो र तालिकामा ६ खेलबाट ७ अङ्क जोड्न सफल भयो। चितवनको यस महत्त्वपूर्ण जितले जनकपुर र कर्णाली याक्सलाई आधिकारिक रूपमै प्ले अफ दौडबाट बाहिर धकेलेको छ।
सामान्य लक्ष्य पछ्याउने क्रममा चितवनको सुरुवात पनि निकै खराब रहेको थियो। पहिलो ओभरमै ललित राजवंशीले अर्जुन साउदलाई शून्यमा बोल्ड गरे भने राहुल यादव र ललितको घातक बलिङसामु चितवन छैटौं ओभरमा ३७ रनमै ५ विकेट गुमाएर गहिरो संकटमा परेको थियो।
तर त्यसपछि अनुभवी ब्याटर डेविड मलानले संयमित ब्याटिङ गर्दै पूर्वकप्तान कुशल मल्ल (१५) सँग महत्त्वपूर्ण साझेदारी गरे। मलानले ३९ बलमा ३६ रन बनाउने क्रममा विजयी रन छक्का प्रहार गर्दै टिमलाई जिताए भने कमलसिंह ऐरी ७ रनमा अविजित रहे।
यसअघि पहिले ब्याटिङ गरेको जनकपुरको प्रदर्शन अत्यन्त फितलो रह्यो। कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए पनि अन्य ब्याटरहरू टिक्न सकेनन्। विशाल सुस्लिङले १५ रन जोडे भने जिम्मी निसम शून्य र ह्यारी ट्रक्टर खाता नखोल्दै आउट भए।
चितवनका बलर रन्जीत कुमारले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १ मेडन राख्दै मात्र २ रन खर्चेर ३ विकेट लिए। त्यस्तै कप्तान सिकन्दर राजा र कामिल मिसराले २–२ तथा कमलसिंह र रिजन ढकालले १–१ विकेट हात पारे।
चितवनले प्ले अफमा आफ्नो स्थान पक्का गर्न अब अन्तिम खेलमा कर्णाली याक्सलाई अनिवार्य पराजित गर्नुपर्नेछ।
| विवरण | तथ्य / जानकारी |
| खेल | नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट |
| नतिजा | चितवन राइनोज ४ विकेटले विजयी |
| जनकपुरको स्कोर | ८८/९ (२० ओभर) |
| चितवनको स्कोर | ८९/६ (१७.२ ओभर) |
| उत्कृष्ट प्रदर्शन (बलिङ) | रन्जीत कुमार (३ ओभर, १ मेडन, २ रन, ३ विकेट) |
| उत्कृष्ट प्रदर्शन (ब्याटिङ) | डेविड मलान (३६ रन, अविजित) |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










प्रतिक्रिया दिनुहोस्