08/23/2026, 17:13:39
आइतबार, भदौ ०७, २०८३

गान्तोकमा नेपथ्यको कन्सर्ट, मुख्यमन्त्री गोलेले सार्वजनिक गरे टिकट र टिशर्ट


काठमाडौँ । नेपाली लोकरक ब्याण्ड नेपथ्यले भारतको सिक्किम राज्यको राजधानी गान्तोकमा आगामी अक्टोबर ३१, २०२६ मा कन्सर्ट गर्ने भएको छ। कन्सर्टको घोषणा भएसँगै सिक्किम सरकारले समेत कार्यक्रमप्रति अपनत्व देखाएको छ।

गान्तोकमा आयोजित एक समारोहबीच सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)ले नेपथ्यको गान्तोक कन्सर्टका लागि तयार पारिएको विशेष टिशर्ट र टिकट सार्वजनिक गरेका हुन्।

नेपथ्यले यसअघि सिक्किममा तीनपटक प्रस्तुति दिइसकेको छ। यसपटकको कन्सर्ट गान्तोकस्थित पाल्जोर स्टेडियममा आयोजना हुने भएकाले यसलाई सिक्किममा नेपथ्यको सबैभन्दा भव्य प्रस्तुति हुने आयोजकले जनाएको छ।

कन्सर्टको आयोजना पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्कले गर्न लागेको हो। आयोजकका अनुसार कार्यक्रममार्फत सिक्किमका युवाको ऊर्जा, उत्साह र सिर्जनशीलतालाई प्रोत्साहन गर्नुका साथै स्थानीय संस्कृति संरक्षण र सिक्किमको पर्यटन तथा सुन्दरतालाई प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ।

नेपथ्यका मुख्य गायक अमृत गुरुङले सिक्किमका विभिन्न पुस्ताबाट आफूहरूले हरेक यात्रामा न्यानो स्वागत पाउँदै आएको बताएका छन्। सिक्किम–दार्जिलिङ क्षेत्रमा नेपाली गीत–संगीतप्रति विशेष लगाव रहेको भन्दै उनले आगामी कन्सर्टलाई लिएर उत्साहित रहेको बताए।

कन्सर्टमा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्।

नेपथ्यले सन् २०२६ मा सिक्किमसँगै इटहरीमा पनि कन्सर्ट गर्ने घोषणा गरिसकेको छ। इटहरीमा नोभेम्बर ४ मा प्रस्तुति दिने तयारी छ भने काठमाडौंको कीर्तिपुर तथा दक्षिण कोरियामा पनि कार्यक्रम गर्ने तयारी भइरहेको छ।

गान्तोक कन्सर्टका लागि अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ। टिकट नेपथ्यको आधिकारिक वेबसाइटमार्फत बुक गर्न सकिनेछ।