11/25/2026, 12:28:09
बुधबार, मङि्सर १०, २०८३

लैङ्गिक हिंसाविरुद्ध एकजुट भई आवाज उठाउनु पर्छ : मन्त्री सिता बादी

१६ दिने अभियानको अवसरमा सन्देश; डिजिटल तथा साइबर हिंसा नियन्त्रण, कानुनी दायरा र पीडितलाई संवेदनशील व्यवहारमा जोड

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, मङ्सिर ९ गते । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन र हिंसा गर्नेहरू डराउने समाज निर्माण गर्न सबैमा आह्वान गर्नुभएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा सन्देश जारी गर्दै उहाँले हिंसा, विभेद र अपमान कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने बताउनुभयो भने महिलाको सम्मान, सुरक्षा र समान सहभागिताबिना लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको आकाङ्क्षा पूरा नहुने तथा संविधानप्रदत्त समानता र महिलाको हक कार्यान्वयन गर्न प्रचलित कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा सञ्चालन हुने अभियानलाई हिंसामुक्त, विभेदरहित र समतामूलक समाज निर्माणको साझा प्रतिबद्धताका रूपमा लिनुपर्ने बताउँदै मन्त्री बादीले डिजिटल तथा साइबर हिंसा, बाल-बालिका र सीमान्तकृत समुदायमाथिको हिंसाविरुद्ध राज्यका निकाय, कानुन कार्यान्वयनकर्ता र आम नागरिकलाई एकजुट हुन आह्वान गर्नुभयो तथा पहुँच, शक्ति, प्रतिष्ठा वा पदका आधारमा पीडकले उन्मुक्ति पाउन नहुनेमा जोड दिनुभयो ।

महिलाको सुरक्षा सम्पूर्ण समाज र राज्यको जिम्मेवारी भएको स्पष्ट पार्दै उहाँले पीडित न्यायका लागि राज्यका निकायमा पुग्दा संवेदनशीलता, जिम्मेवारी र तदारुकताका साथ व्यवहार गर्न तथा आफ्नै परिवारको सदस्यले पीडा भोगेसरह सहयोग, उद्धार र न्यायका लागि काम गर्न आग्रह गर्नुभयो ।

सरकारी तथा निजी क्षेत्रका कर्मचारी, अभिभावक, शिक्षक, विद्यार्थी, नागरिक समाज, राजनीतिक दल, संघसंस्था र सम्पूर्ण नागरिकलाई आ-आफ्नो ठाउँबाट खुलेर आवाज उठाउन आह्वान गर्दै मन्त्री बादीले हिंसा गर्ने सोच र प्रवृत्तिलाई निरुत्साहित गरी पीडितले न्याय पाउने व्यवस्था सुनिश्चित गर्न हिंसामुक्त नेपाल निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गर्न आग्रह गर्नुभयो ।

विषय / क्षेत्र मुख्य विवरण वा सार
मन्त्रीको मूल आह्वान लैङ्गिक हिंसाविरुद्ध एकजुट आवाज र हिंसा गर्नेहरू डराउने समाज निर्माण; पहुँच/शक्ति/पदका आधारमा पीडकलाई उन्मुक्ति नदिन र कानुनी कारबाहीमा जोड (मन्त्री सिता बादी) ।
चुनौती र पीडितमैत्री व्यवहार डिजिटल तथा साइबर हिंसा, बालबालिका र सीमान्तकृत समुदायमाथिको हिंसाविरुद्ध सचेतता; राज्यका निकायमा पुग्ने पीडितप्रति संवेदनशीलता, तदारुकता, उद्धार र सहयोगको आग्रह ।
१६ दिने अभियान र सहभागिता नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिने अभियान; कर्मचारी, अभिभावक, शिक्षक, विद्यार्थी, नागरिक समाज, राजनीतिक दल, संघसंस्था र आम नागरिकलाई खुलेर बोल्न आह्वान ।