11/25/2026, 08:53:36
बुधबार, मङि्सर १०, २०८३

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई भारतीय मिडियाद्वारा ‘नयाँ अध्याय’ र ‘रिसेट’ को संज्ञा

आर्थिक तथा विकास प्याकेज, आठ समझदारीपत्र, ‘सरयू–कमला एक्सप्रेस’ रेल उद्घाटन र २४–२५ घण्टाको नतिजामुखी दिल्ली भ्रमणलाई उच्च प्राथमिकता


काठमाडौँ, मङ्सिर ९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले यही आइतबार र सोमबार गर्नुभएको पहिलो राजकीय विदेश भ्रमणलाई भारतका प्रमुख सञ्चारमाध्यमले उच्च प्राथमिकता दिँदै दुई देशबिचको सम्बन्धमा ‘नयाँ अध्याय’ र विगतको कूटनीतिक चिसोपना अन्त्य गर्ने ‘रिसेट’ का रूपमा अथ्र्याएका छन् ।

‘टाइम्स अफ इन्डिया’ ले ‘स्वर्णिम अध्याय’ को सुरुवात, १५ हजार करोड भारु बराबरको आर्थिक प्याकेज र काठमाडौँ–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाउने सहमतिलाई प्राथमिकता दिएको छ भने ‘हिन्दुस्तान टाइम्स’ र ‘एनडिटिभी’ ले हैदराबाद हाउसको द्विपक्षीय वार्ता, आठ समझदारीपत्र, २४ हजार करोड नेरुको विकास प्याकेज तथा ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको उद्घाटनलाई मुख्य समाचार बनाएका छन् ।

‘द इन्डियन एक्सप्रेस’ ले व्यापार, ऊर्जा, प्रविधि, जलस्रोत तथा भौतिक र डिजिटल कनेक्टिभिटीलाई मुख्य एजेन्डाका रूपमा प्रस्तुत गर्दै नयाँ सरकारसँग उच्चस्तरीय संवाद र विकास सहकार्य विस्तारको विश्लेषण गरेको छ भने ‘द हिन्दु’ ले २४ हजार करोड नेरुको विकास प्याकेजसँगै नेपालमा भारतीय प्रविधि संस्थानको शाखा, छात्रवृत्ति, ‘सरयू–कमला’ रेल र दार्चुला–धार्चुला पुलको भर्चुअल उद्घाटनलाई नयाँ चरणका रूपमा समेटेको छ ।

यसैगरी ‘इटिभी भारत’ ले ‘विकसित भारत र समुन्नत नेपाल’ को १० बुँदे मार्गचित्र र सीमापार रेल तथा सडक सञ्जाल विस्तारले पुरानो सम्बन्धलाई नयाँ ऊर्जा दिने उल्लेख गरेको छ भने ‘इन्डिया टुडे’, ‘फस्र्टपोस्ट’ तथा अब्जर्भर रिसर्च फाउन्डेसन लगायत विश्लेषकहरूले पहिलो विदेश भ्रमणमा बेइजिङको सट्टा नयाँ दिल्ली रोज्नुलाई भारतको चासोलाई स्वीकार गरिएको महत्वपूर्ण कूटनीतिक सङ्केतका रूपमा व्याख्या गरेका छन् ।

धार्मिक-स्थल वा अन्य सहर नघुमी करिब २४–२५ घण्टा नयाँ दिल्लीमा रहेर काम-काजी बैठकमा केन्द्रित हुनुलाई भारतीय सञ्चारमाध्यमले औपचारिकताभन्दा ठोस नतिजामा केन्द्रित शैलीका रूपमा चर्चा गर्दै यसलाई विश्वास पुनर्निर्माण र साझा दृष्टिकोण अघि बढाउने सकारात्मक सुरुवातका रूपमा प्रस्तुत गरेका छन् ।

विषय / क्षेत्र मुख्य विवरण वा सार
प्रमुख मिडियाको कवरेज टाइम्स अफ इन्डिया (१५ हजार करोड भारु प्याकेज, काठमाडौँ–भैरहवा–लखनउ हवाई रुट); हिन्दुस्तान टाइम्स र एनडिटिभी (८ समझदारीपत्र, २४ हजार करोड नेरु विकास प्याकेज, सरयू–कमला एक्सप्रेस); द हिन्दु (आईआईटी शाखा, छात्रवृत्ति, दार्चुला–धार्चुला पुल) ।
एजेन्डा र मार्गचित्र व्यापार, ऊर्जा, प्रविधि, जलस्रोत, भौतिक/डिजिटल कनेक्टिभिटी र ‘विकसित भारत र समुन्नत नेपाल’ को १० बुँदे मार्गचित्र तथा सीमापार रेल–सडक सञ्जाल ।
कूटनीतिक विश्लेषण बेइजिङको साटो नयाँ दिल्ली रोज्नु कूटनीतिक सङ्केत; करिब २४–२५ घण्टा दिल्लीमै रही कामकाजी बैठकमा केन्द्रित नतिजामुखी शैली र विश्वास पुनर्निर्माणको सुरुवात ।