08/25/2026, 09:04:38
मङ्गलबार, भदौ ०९, २०८३
बन्चरेडाँडा ल्यान्डफिल साइट

१७५ पटक सहमति तर समस्या ज्युँका त्युँ : भदौ १५ पछि बन्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी

‘गाली काठमाडौँ महानगरले मात्र खाने?’: बन्चरेडाँडा समस्या समाधानमा सबै पालिकालाई आआफ्नो फोहोर व्यवस्थापन गर्न आग्रह


काठमाडौँ, भदौ ९ गते । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन स्थल बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दाबिच पटक-पटक सम्झौता भए पनि वर्षौँदेखि समस्या ज्युँका त्युँ रहेको छ।

२०६२ सालदेखि हालसम्म १७५ भन्दा बढी लिखित तथा मौखिक सहमति भइसके पनि तिनको कार्यान्वयन नहुँदा स्थानीय बासिन्दा पुनः आन्दोलित भएका छन्। स्रोतमा नै फोहोर नछुट्याइनु, जग्गा अधिग्रहण र मुआब्जाको जटिलताका साथै वातावरणीय असरका कारण स्थानीयले भदौ १५ गतेपछि काठमाडौँ उपत्यकाको फोहोर बन्चरेडाँडामा विसर्जन गर्न सधैँका लागि बन्द गराउने कडा चेतावनी दिएका छन्।

समस्या समाधानका लागि सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जन लगायतका सरोकारवालाबिच उच्चस्तरीय छलफल भएको छ। छलफलका क्रममा ललितपुर महानगरका प्रमुख महर्जनले वैज्ञानिक पद्धति नअपनाउँदा बन्चरेडाँडाको ६० प्रतिशत भाग पुरिइसकेको र अविलम्ब कदम नचाले दुई-तीन वर्षमै ल्यान्डफिल साइट पूर्ण रूपमा भरिने जोखिम औँल्याउनुभयो।

यता काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले उपत्यकाका २३ वटा स्थानीय तहले आ-आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्नुपर्ने र काठमाडौँ महानगरलाई मात्र जिम्मेवार बनाउने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो।

बन्चरेडाँडा ल्यान्डफिल साइटका कारण ५३९ हेक्टर क्षेत्रका ८७५ घरधुरी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने स्थानीय बासिन्दाले क्यान्सर जस्ता जटिल रोगको प्रकोप बढेको र सडक दुर्घटनाबाट जनधनको क्षति भएको गुनासो गरेका छन्। पूर्वाधार निर्माणमा १ अर्ब ४ करोड रुपियाँभन्दा बढी खर्च भइसकेको भए पनि बन्चरेडाँडामा कुल फोहोरको ४८.८ प्रतिशत हिस्सा काठमाडौँ महानगर एक्लैको रहेको छ। दीर्घकालीन समाधानका लागि उपत्यकाका सबै पालिकाहरूले स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याई वैकल्पिक व्यवस्थापन नगरे आगामी दिनमा उपत्यकाको फोहोर व्यवस्थापन झन् विकराल बन्ने निश्चित छ।