04/07/2026, 13:35:54
मङ्गलबार, चैत २४, २०८२

सरकारको शासकीय सुधारको सन्देश


काठमाडौँ, चैत २३ गते । सरकारले जनमुखी र जवाफदेही राज्य प्रणाली बनाउन शासकीय सुधार र सुशासनका लागि नवीनतम् अवधारणासहितको कार्य प्रारम्भ गरेको छ । शासकीय सुधार एवं सुशासनको मार्गचित्र २०८२ तयार गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयन एवं सम्पत्ति शुद्धीकरणका मुद्दामा कारबाहीतर्फ अग्रसर हुँदै सुशासनलाई सर्वोपरि मानेर अघि बढेको सन्देश सरकारले दिएको हो ।

प्रशासनिक एवं अन्य प्राविधिक चुनौतीबिच सरकारले जनअपेक्षा बमोजिम सेवा प्रवाह गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गरेको हो । प्रधानमन्त्री कार्यालयका सहसचिव एवं सुशासनको मार्गचित्र २०८२ समितिका सदस्य सचिव डा. भीष्मकुमार भुसाल र जेन-जीका तर्फबाट समिति सदस्य एवं सामाजिक अभियन्ता मोनिका निरौलाले सुशासनको मार्गचित्र कार्यान्वयन हुँदा देशमा समग्र रूपान्तरण नवीन अध्याय आरम्भ हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वसचिव शारदाप्रसाद त्रितालले राज्य प्रणालीलाई प्रभावकारी, जवाफदेही र सुशासनयुक्त बनाउनुपर्ने र शक्तिशाली आयोग बनाएर सार्वजनिक पदमा बसेका पदाधिकारीको सम्पत्ति छानबिन उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आयोगले छानबिन गर्ने, अनुसन्धान गर्ने र त्यसपछि त्यो अनुसन्धान प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कारबाहीको प्रक्रिया अगाडि बढाउन सकिन्छ । सरकारले लिने नीतिले राज्य संरचनामा आमूल सुधार गर्न सकिन्छ ।

सहसचिव डा. भुसालले सरकारी संयन्त्रका ५०० भन्दा बढी र ६५० भन्दा धेरै सरोकारवाला एवं नागरिकसँगको संवादपछि नै सुशासनको मार्गचित्र निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार सुगमदेखि दुर्गम जिल्लाका नागरिक, सरोकारवाला, प्रदेशका मन्त्रीलगायतसँग संवाद गरिएको थियो । उहाँले भन्नुभयो, “मन्त्रालयगत छलफल भयो । समग्रमा मन्त्रालयहरूले रूपान्तरणका योजना लिखित रूपमै प्रस्ताव आएपछि र विज्ञसँग पनि छलफल गरेपछि बृहत् परामर्शपछि प्रतिवेदन तयार पारिएको हो ।

सदस्य निरौलाले राज्य प्रणालीलाई अझै समावेशी बनाउने, विविधतालाई समेट्ने गरी प्रतिवेदन तयार पारिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारका सबै अङ्ग समावेशी हुनु पर्छ । विविधतालाई समेट्ने मात्रै होइन, नेपाली समाजमा अन्तरवर्गीय विभेद छन्, ती विषयलाई गम्भीरतापूर्वक लिएर समावेशी र अर्थपूर्ण सहभागिता सुनिश्चित हुनु पर्छ । सरकारले कार्य आरम्भ गर्दा प्रतिवेदनका यी विषयमा ध्यान दिनु पर्छ ।

विद्यमान कानुन पर्याप्त

पूर्वसचिव त्रितालले विद्यमान कानुनी व्यवस्था अनुसारै भ्रष्टाचारका मुद्दामाथि अनुसन्धान गर्न सकिने बताउनुभयो । सरकारले चाहेमा संवैधानिक निकायसँग सहकार्य गरेर अनुसन्धान अघि बढाउन सक्ने र यसका लागि कानुनी समस्या नहुने बताउँदै उहाँले भन्नुभयो, “यस्ता विषय उठेका छन्, यो विषय हेरिदिनु प¥यो भनेर सरकारले आग्रह गर्न सक्छ । सरकारका अन्य निकायले समाउने, छानबिन गर्ने, हिरासतमा राख्ने जे जे गर्ने हो, गर्छन् । भ्रष्टाचार धेरै हुने निकाय भनेर मानिएका विभिन्न निकायमा नियन्त्रण गर्ने, निगरानी गर्ने र कारबाही बढाउने काम सरकारले सहजै गर्न सक्छ ।

पूर्वसचिव त्रितालले शक्तिशाली न्यायिक आयोग गठन गरेर विगतका पदाधिकारी प्रशासनिक हुन् अथवा राजनीतिक हुन्, ती सबै पदाधिकारीको सम्पत्ति छानबिन गर्ने कदम बढाउन सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “यो काम अघि बढाउनु पर्छ । त्यति पनि नगर्ने हो भने यत्रो आन्दोलनको उद्देश्य पूरा हुन सक्दैन ।

सहसचिव डा. भुसाल र अभियन्ता निरौलाले सुशासनको मार्गचित्र कार्यान्वयन हुने प्रस्ट पार्नुभयो । सरकारको नेतृत्व गरेको र अन्य दलका घोषणापत्रमा आएका अधिकांश विषय प्रतिवेदनमा समेटिएको बताउँदै डा. भुसालले भन्नुभयो, “त्यसैले सरकारले आफ्नो पार्टीको वाचापत्र कार्यान्वयन गर्नु र यो प्रतिवेदन कार्यान्वयन गर्नु एउटै कुरा हो । प्रतिवेदनका धेरै विषय कार्यान्वयनमा गएका छन् ।

डा. भुसालले प्रतिवेदनमा समावेश गरिएका सुधारका सुझाव अध्ययन भइरहेको बताउनुभयो । उहाँले प्रतिवेदनमा सुशासनका लागि गरिएका प्रस्ताव र सरकारले गर्न चाहेका विषय मिलेकाले प्रतिवेदन कार्यान्वयन सहज हुने बताउनुभयो । उहाँले प्रशासनिक सुधारसहित नागरिक अपेक्षा पूरा गर्नकै लागि प्रतिवेदन तयार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुशासनका मार्गचित्रमा समस्याको अध्ययन र सम्बोधनको विधि पनि लेखिएको छ । त्यसैले नागरिकका अपेक्षा पूरा हुने सन्दर्भमा प्रतिवेदन सहज रूपमा कार्यान्वयन हुन्छ ।

अभियन्ता निरौलाले नीति निर्माण, सेवा प्रवाहको विधि र संयन्त्रलाई बलियो बनाउँदा मात्रै नागरिकले सुशासनको प्रत्याभूति गर्ने बताउनुभयो । उहाँले सुशासनको मार्गचित्र कार्यान्वयनमा जाँदा सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्ने, निजामती सेवा ऐन र प्रहरी ऐनसहितका अत्यावश्यक कानुन निर्माण आदि काम द्रूत रूपमा बढाउनु पर्छ । उहाँले भन्नुभयो, “राज्यले दिने सेवा र सूचना पारदर्शी रूपले नागरिकसम्म पु¥याउन सक्नु पर्छ । सुशासनका पक्षमा सरकार बलियो ढङ्गले उभिनु पर्छ ।

सरकार जिम्मेवार बन्नु पर्छ

पूर्वसचिव त्रितालले राजनीतिक दलले ‘भ्रष्टाचारका फाइल खोल्छौँ, के गर्छौं’  भने पनि बेथिति र भ्रष्टाचारलाई प्रश्रय दिने कार्यमा तत्कालीन सत्ताधारीहरू लागेका प्रशस्तै उदाहरण रहेको बताउनुभयो । सरकार जिम्मेवारीपूर्वक प्रस्तुत हुँदै राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरणका मुद्दा सरकारले नै हेर्न सक्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भ्रष्टाचारै भएको भनिएका फाइल चाहिँ सरकारको क्षेत्राधिकारभित्र हुँदैनन् । वास्तवमा भ्रष्टाचार हुन नदिने अथवा भ्रष्टाचार रोक्ने ‘प्रिभेन्सन पार्ट’ (रोकथाम पक्ष) चाहिँ सरकारकै हो । तर भ्रष्टाचार भइसकेपछिका मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा जान्छन् । सम्पत्ति शुद्धीकरणको विषय सोही निकायमा जान्छ । तीन निकायसँग सरकारले समन्वय गर्नु पर्छ ।