04/07/2026, 04:00:49
सोमबार, चैत २३, २०८२

१३ चैतमा बालेन्द्रलाई प्रधानमन्त्री र अन्य नेताहरूलाई मन्त्रीको शपथ गराउने रास्वपाको तयारी


काठमाडौँ, चैत्र १० : रास्वपाले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री र अन्य केही नेतालाई मन्त्रीको शपथ एकै समारोहमा गराउने तयारी गरेको छ । त्यसका लागि रास्वपा सभापति रवि लामिछाने र शाहबीच मन्त्री बन्ने नेताहरूको सूची तयार पार्न निरन्तर छलफल चलिरहेको छ । दुवै नेताले छलफलमा आवश्यकताअनुसार अन्य शीर्ष नेता र सम्भावित मन्त्रीलाई बोलाएर कुराकानीसमेत गरिरहेका छन् ।

एक शीर्ष नेताका अनुसार प्रधानमन्त्री शाहसँगै शपथ लिने मन्त्रीको सूचीमा अर्थमन्त्रीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाल निश्चित जस्तै छन् । सुनील लम्सालले समेत मन्त्रीको शपथ लिने पक्का भए पनि कुन मन्त्रालय भन्ने टुंगो लागिसकेको छैन । उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिनेबारे छलफल भइरहेको ती नेताको भनाइ छ । तर भावी प्रधानमन्त्री शाहनिकट भएकाले लम्साललाई गृह मन्त्रालय दिन सकिने विकल्पबारे पनि कुरा उठेको छ ।

शाह पक्षका एक नेताका अनुसार मन्त्रिपरिषद्मा कम्तीमा तीन महिला मन्त्री हुनेछन् । ‘१३ जना प्रत्यक्षबाट नै निर्वाचित भएर आउनुभएको छ भने ४८ जना समानुपातिकबाट सांसद बन्नुभएको छ, ३–४ जना महिला मन्त्री बन्ने पक्का छ, कसलाई बनाउने भन्नेबारे परामर्श जारी छ,’ उनले भने ।

मन्त्री चयनका लागि हुने छलफलमा सहभागी अर्का एक नेताका अनुसार महिलाबाट सोबिता गौतम र इन्दिरा रानालाई मन्त्री बनाउनेबारे छलफल चलिरहेको छ । ‘पार्टी सभापति र वरिष्ठ नेताबीच मन्त्री छनोटबारे छलफल चलिरहेको छ, मन्त्री बन्ने ३–४ जना पक्का भएको छ, अन्य सम्भावित व्यक्तिहरूको पृष्ठभूमिसँगै योग्यता र क्षमताबारे अध्ययन भइरहेको छ,’ उनले भने । सोबितालाई सभामुखको जिम्मेवारी दिने विकल्पबारे पनि परामर्श भइरहेको ती नेताले जानकारी दिए ।

मन्त्रालयको संख्या १५ देखि १८ राख्ने र बढीमा १५ जनालाई मन्त्री बनाउने तयारी भइरहेको रास्वपा नेताहरू बताउँछन् । आवश्यकता र क्षमता हेरेर एक जनालाई दुईवटासम्म मन्त्रालयको जिम्मेवारी दिने विषयमा समेत नेताहरूबीच परामर्श भइरहेको छ । उपप्रधानमन्त्री राख्ने कि नराख्ने भन्ने विषयमा छलफल भएको तर निर्णय भइनसकेको छलफलमा सहभागी अर्का एक नेताले बताए ।

सभापति लामिछाने, वरिष्ठ नेता शाहसँगै उपसभापतिद्वय डीपी अर्याल र वाग्लेबीच ५ चैतमा रोयल सिंगे होटलमा भएको बैठकमा मन्त्रीहरूको सूचीबारे प्रारम्भिक छलफल भएको थियो । त्यसयता लामिछाने र शाहबीच छलफल जारी छ ।

रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले मन्त्रीहरूका विषयमा छलफल जारी रहे पनि निष्कर्षमा पुगिनसकेको बताए । ‘कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा छलफल भइरहेका छन्, निष्कर्षमा पुगेको अवस्था छैन,’  उनले भने, ‘मन्त्रालय १५ देखि १८ बीचमा हुने कुरा छ ।

रास्वपा प्रवक्ता मनीष झाले प्रधानमन्त्रीसँगै सबै मन्त्रीले शपथ लिने र तत्कालै काममा लाग्ने गरी छलफल चलिरहेको बताए । ‘मन्त्री बन्ने सांसदको व्यक्तित्व, पृष्ठभूमि, अनुभवका आधारमा सभापति र वरिष्ठ नेतालगायत शीर्ष नेतृत्वले छलफल गरिराख्नुभएको छ, त्यसकै आधारमा निर्णय हुन्छ,’ उनले भने ।

लामिछाने र शाहबीच सरकारका सुरुवाती प्राथमिकता र निर्वाचनअघि पार्टीले जनतामाझ वाचापत्रमा प्रस्तुत गरेका योजना कार्यान्वयनका बारेमा पनि छलफल भइरहेको छ । सुशासनका लागि चाल्नुपर्ने कदम, मन्त्रालयहरूमा गर्नुपर्ने सुधार लगायतका विषयमा गृहकार्य भइरहेको छ ।

मन्त्रालयहरूको सुधारका विषयमा आन्तरिक रूपमा काम भइरहेको छ, एउटा टिमले मन्त्रालय सुधार कसरी गर्ने भन्ने विषयमा काम गरिरहेको छ,’ महामन्त्री बुर्लाकोटीले भने, ‘मन्त्री, अन्य नियुक्ति, मन्त्रालयको संख्या, सुशासनका लागि चाल्नुपर्ने कदमका विषयमा छुट्टाछुट्टै छलफल भइरहेका छन् ।

यसअघिको सरकारका पालामा राजनीतिक नियुक्ति लिएकालाई नयाँ जनादेशसहित आएको सरकारलाई काम गर्न सहज गर्ने उद्देश्यले सहज रूपमा मार्गप्रशस्त गरिदिन पनि रास्वपा नेताहरूको आग्रह छ । रास्वपा प्रवक्ता झाले योग्य व्यक्तिलाई काममा लगाउने र क्षमता नभएकालाई पदबाट हट्न भनिने बताए । ‘राजनीतिक भाइ–भारदारका आधारमा गरिएका नियुक्तिलाई हटाउने हो, क्षमताका आधारमा नियुक्ति हुनुपर्छ भन्ने पार्टीको नीति हो,’  उनले भने, ‘जो इमानदार हुनुहुन्छ, क्षमतावान् हुनुहुन्छ र राम्रोसँग डेलिभरी गरिरहनुभएको छ, उहाँहरू निश्चिन्त भए हुन्छ ।

कार्यकर्तालाई जागिर दिनका लागि गरिएका नियुक्ति खारेज गर्ने र पार्टीले ती पदमा आफ्ना मान्छे नल्याउने, ल्याउनुपरेमा प्रतिस्पर्धा गराएर पदपूर्ति गर्ने झाको भनाइ छ । ‘कार्यकर्तालाई अटाउन नियुक्ति दिइएको हो भने त पदमुक्त गर्नुपर्छ । आयोग र नियोग खडा गरेर देशलाई ऋण थपेका थप्यै छौं । ऋण लिएर घिउ खाने प्रवृत्तिमा सुधार गर्छौं, यसमा राजनीतिक स्वार्थ छैन,’ उनले भने, ‘पुरानो दलका नियुक्ति हटाएर आफ्ना ल्याउने भन्ने होइन ।

सुशासनका विषयमा मिहिन ढंगले कदम चाल्ने तयारी भइरहेको र त्यसका लागि के कति काम कसरी गर्ने भन्नेबारे भावी प्रधानमन्त्री शाहको टिमले अहिलेदेखि नै काम गरिरहेको रास्वपाका एक नेताले बताए । ‘धेरै विषय पार्टीको वाचापत्रमै छन्, वाचापत्र कार्यान्वयनमा लैजान्छौं,’  उनले भने, ‘५ देखि ७ वर्षमा यसलाई कार्यान्वयन गर्ने भनेर गम्भीरताका साथ लिएका छौं, मन्त्रालय सम्हाल्नेहरूलाई पनि वाचापत्रलाई नै आधार बनाउनु भनेका छौं ।

रास्वपाले संसदीय दलको नेता चयन गर्ने सम्बन्धमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । १२ चैतमा सांसदले शपथ लिएपछि रास्वपाको केन्द्रीय समिति बैठक बस्नेछ । रास्वपा सहप्रवक्ता प्रतिभा रावलका अनुसार संसदीय दलको नेता र विविध विषयमा छलफल गर्न १२ चैत साँझ ४ बजे बैठक बोलाइएको हो ।

रास्वपाले वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउन संसदीय दलको नेतामा चयन गर्दै छ । प्रतिनिधिसभामा रास्वपाको एकल बहुमत छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका मात्र १ सय ८२ सांसद छन् ।

– जयसिंह महरा