रुकुमपश्चिम, माघ १७ गते। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–७ साँखमा बिहीबार राति केटी–केटीकै बिचमा विवाह भयो। साँखको माथि गाउँबाट आएका जन्ती तलिगाउँबाट बेहुली लिएर फर्किए। बाजागाजासहित धुमधाम विवाह भयो। विवाहमा सयौँ मानिसहरू सहभागी बने।
यो विवाह वास्तविक नभई नाटकीय हो। साँख गाउँमा परापूर्व कालदेखि नै यो रीति चल्दै आएको छ। केटी केटीकै बिचमा हुने यो विवाहलाई ‘पापिनी विवाह’को नाम दिइएको छ। साँख गाउँमा मानव बसोबास सुरु भएदेखि नै गाउँमा पापिनी मेला लाग्न थालेको र उक्त मेलामा यसरी केटी केटीकै बिचमा विवाह हुने प्रचलन रहेको वडा अध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिनुभयो।
हरेक वर्षको माघ १४ गते साँझ दुलही माग्न जाने र १५ गते साँझ दुलाहा पक्ष बाजागाजा सहित धुमधामका साथ जन्ती लिएर दुलही लिन जाने र सोही दिन माइती पक्षले विवाह गरिदिएर छोरीलाई अन्माउने प्रचलन रहेको छ।

साँख गाउँमा दह छ। उक्त दहको माथि तिरको गाउँलाई माथि गाउँ र तल तिरको गाउँलाई तलिगाउँ भनिन्छ। यी दुई गाउँले परापूर्वकालदेखि नै आलोपालो विवाहको रीति धान्दै आएका छन्। यो वर्ष दुलही अन्माउने पालो तलिगाउँको थियो भने सामाजिक परम्परा अनुसार विवाह गरेर माथि गाउँले बेहुली लिए। माथि गाउँले परम्परन अनुसार बेहुली भित्र्याएको छ।






– राजु लामिछाने
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
