08/17/2026, 00:23:15
आइतबार, साउन ३१, २०८३

कर्णालीमा मुख्यमन्त्रीका लागि मंगलबार साँझ ५ बजेसम्म दाबी पेस गर्न प्रदेश प्रमुखद्वारा आह्वान


सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेको छ। मङ्गलबार बेलुका ५ बजेसम्म दाबी पेस गर्न प्रदेश प्रमुख यज्ञराज जोशीले आग्रह गर्नुभएको हो।

प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उक्त आह्वान गर्नुभएको हो। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई साउन १२ गते साँझ ५ः०० बजेभित्र मुख्यमन्त्री पदको लागी दाबी पेस गर्न भनिएको प्रदेश प्रमुखका सचिव हिरालाल चौधरीले जानकारी दिनुभयो।

शनिबार मुख्यमन्त्री यामलाल कँडेलले दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्नुभएको थियो। प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावपछि मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिनुभएको हो। प्रदेशसभाको शनिबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन्।

असार ३२ गते नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका १६ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलविरूद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। अविश्वासको प्रस्तावमाथि आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा छलफल हुने कार्यतालिका थियो। तर विश्वासको मत पाउने सम्भावना नभएपछि कँडेल मुख्यमन्त्रीबाट राजीनामा दिन बाध्य भएका हुन्।

कँडेल पहिलो पटक २०८० चैत २७ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनमा मुख्यमन्त्री बन्नुभएको थियो। झन्डै चार महिनापछि केन्द्रमा समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसको समर्थनमा आधाआधा कार्यकाल भागबन्डा गरी दोस्रो पटक २०८१ साउन २१ गते विश्वासको मत लिएर मुख्यमन्त्री बन्नुभएको थियो।

अब कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले दाबी पेस गर्ने र प्रदेश प्रमुखले बहुमतको आधारमा नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढेको छ।