

जुम्ला, भदौ २० गते । रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढी आएको १० दिन बितिसक्दा पनि जुम्लाका ६४ जना नागरिक अझै सम्पर्कमा आएका छैनन्।
काम तथा रोजगारीको सिलसिलामा रसुवा पुगेका आफ्ना मानिसहरू सम्पर्कविहीन भएपछि उनीहरूका परिवारमा ठुलो चिन्ता र अत्यास छाएको छ। सम्पर्कविहीन हुनेहरूमा पातारासी गाउँपालिकाका ५० जना, गुठीचौर गाउँपालिकाका ९ जना, चन्दननाथ नगरपालिकाका २ जना, सिँजा गाउँपालिकाका ३ जना (नेपाली सेनामा कार्यरत एक जनासहित) रहेका छन्।
बेपत्ता भएकाहरूको खोजीका लागि कतिपय परिवारका सदस्यहरू आफ्नै खर्चमा प्रभावित क्षेत्र रसुवा पुगेका छन् भने कतिपयले स्थानीय तह र सम्बन्धित निकायमा पुगेर उद्धारका लागि हारगुहार गरिरहेका छन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईका अनुसार जिल्लाभरबाट ६४ जना सम्पर्कविहीन रहेको पुष्टि भएको छ।
यस्तै, रसुवामा कार्यरत जुम्लाकी स्वास्थ्यकर्मी ललिता कुमाई, उहाँकी नाबालिका छोरी र प्रकाश आचार्यको मृत्यु भएको पुष्टि भइसकेको छ।
सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउन स्थानीय तहका प्रतिनिधिहरूले सरकारसँग जोडदार माग गरेका छन्। पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोरा र उपाध्यक्ष जनमाया रोकायाले बेपत्ता नागरिकहरूको खोजीका लागि जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालय तथा सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको बताउनुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




















