कर्णाली, साउन ११ गते । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको भीड लाग्ने गरेको छ । स्थानीय राति २ः०० बजेदेखि खाली ग्यास लिएर ग्यास डिलरमा पुग्छन् । एक-दुई दिन कुरेर मात्र भरिएको सिलिण्डर लिएर फर्किछन् । पछिल्लो समय ग्यास अभाव देखिएपछि उपभोक्ताले सास्ती खेप्नुपरेको हो ।
विगत जस्तो जतिबेला पनि सजिलै ग्यास पाउने अवस्था नभएको स्थानीय बताउँछन् । केहीसँग मात्र ग्यासको विकल्प भएपनि यहाँका अधिकांश नागरिक खाना पकाउने एलपी ग्यासमा परनिर्भर छन् । ग्रामीण क्षेत्रमा वैकल्पिक इन्धनको व्यवस्था भए पनि सहरी क्षेत्रमा सजिलै दाउरा, गुइँठा पाउने अवस्था पनि छैन । यसअघि ग्यासमा निर्भर रहनेहरूले यसको अभावमा समस्या भोग्दै आउनुपरेको छ ।
वीरेन्द्रनगर नगरपालिका-९ सुर्खेतका भविका चौधरीले ग्यास पाउँदा आनन्दको अनुभूति गरेको सुनाउनुभयो । “चार दिनसम्म लाइनमा बस्दा बेलाबेलामा सासै बन्द होला जस्तो हुन्थ्यो । चुलो नबलेकाले यसबीचमा चाउचाउ, बिस्कुट र चिउरा खाएर गुजारा चलाइयो । आज बल्लतल्ल ग्यास पाइयो । धेरै ठूलो युद्ध जिते जस्तो महसुस भएको छ । आजदेखि खाना पकाएर खान पाइने भइयो”, उहाँले भन्नुभयो ।
चौधरी प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँ जस्तै अन्य स्थानीयले ग्यास नपाएर धेरै दिन भोकभोकै बस्नुपर्ने अवस्था सामना गर्नुपर्यो । यसबाट धेरैजसो विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तित्व र सहज पहुँच नभएका नागरिकहरू प्रभावित भएका छन् ।


पहुँच भएकाले विभिन्न स्रोतबाट ग्यास लिएर आफ्नो दैनिक चलाए पनि अशक्त, विद्यार्थी, ज्येष्ठ नागरिकले सास्ती खेप्नु परेको वीरेन्द्रनगर नगरपालिका(९ का स्थानीय तीर्थबहादुर थापाले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “हामी आइतबार बिहान ५ः०० बजेदेखि खाली ग्यास लिएर भर्नका लागि लाइनमा बसेका छौँ, अँझै पालो आएको छैन । बेलुका खाली सिलिण्डर लिएर घर फर्केपछि भोलिपल्ट फेरी लाइनमा बस्न आउँछौँ । राति खाली सिलिण्डर सुरक्षाका लागि पाँच सय जनाले प्रतिव्यक्ति रु २० तिर्ने गरेका छौँ । आज पनि ग्याँस पाउने हो कि होइन थाहा छैन ।”
यसैबीच, नेपाल आयल निगम सुर्खेतका प्रमुख दिपककुमार घिमिरेले साउन १ गतेदेखि १० गतेसम्म वीरेन्द्रनगरबाट १७ हजार खाना पकाउने एलपी ग्याँस वितरण गरिएको जानकारी दिनुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “यसअघि हरेक महिनामा २६ हजार ग्यास वितरण हुन्थ्यो । तर साउनको १० दिनभित्र १७ हजार एलपी ग्यास वितरण भएको छ । यो निकै ठूलो परिमाण हो। यस हिसाबले एक महिनामा ५१ हजार आवश्यक पर्ने देखिन्छ ।”
प्रमुख घिमिरेका अनुसार सुर्खेतमा एलपी ग्यासको अभाव छैन । बरु अनधिकृत बिक्रेताले विभिन्न स्रोतबाट सङ्कलन गरी भण्डारण गरेर राखेको हुनसक्ने उहाँले आशङ्का व्यक्त गर्नुभयो । सञ्चारकर्मीसहित सरोकार भएका निकायले यसबारे आवश्यक अध्ययन/अनुसन्धान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “अभाव छैन, अभाव गराइएको छ । यसबाट आमनागरिक र पहुँच नभएका व्यक्ति मर्कामा परेका छन्”, उहाँले भन्नुभयो ।
कालिकोट घर भई हाल सुर्खेतमा बस्दै आउनुभएका अपाङ्गता भएका व्यक्ति मनराज कठायतले दुई दिनसम्म ग्यास लिन जाँदा नपाएर खाली हात घर फर्कनुपरेको पीडा पोख्नुभयो। अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सुत्केरीलाई ग्यास वितरणमा प्राथमिकता नदिदा पीडा हुने गरेको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले लक्षित वर्गको सहजता र सबै उपभोक्ताको उपलब्धताका लागि प्रहरी प्रशासनको निगरानीमा ग्यास वितरण गरिँदै आइएको बताउनुभयो । ग्यास अभावका विषयमा ‘के भएको हो’ सोबारे अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































