10/31/2026, 14:34:26
शनिबार, कार्तिक १५, २०८३

नेपाल–भारत सुरक्षा निकायको १० औँ बैठक : खुला सिमानाको अवैध आवतजावत र लागुऔषध तस्करी मुख्य चुनौती

काठमाडौँमा सम्पन्न सशस्त्र प्रहरी र भारतीय एसएसबीको उच्चस्तरीय बैठकले सीमा निगरानी कडा पार्न प्रविधिमैत्री ‘स्मार्ट सीमा व्यवस्थापन’ प्रणाली लागू गर्ने सहमति गरेको छ।


काठमाडौँ, कात्तिक १४ गते । नेपाल र भारतका सुरक्षा निकायबिच काठमाडौँमा सम्पन्न उच्चस्तरीय बैठकले दुई देशबीचको खुला सिमानाबाट हुने अवैध आवत-जावत र लागुऔषधको तस्करीलाई मुख्य सुरक्षा चुनौतीका रूपमा औँल्याएको छ।

सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बिच सम्पन्न १० औँ द्विपक्षीय सुरक्षा समन्वय बैठकमा सीमापार अपराध नियन्त्रणका लागि सीमा निगरानी कडा पार्ने, सूचना आदान-प्रदान तीव्र बनाउने र आधुनिक प्रविधिको प्रयोग बढाउने विषयमा महत्त्वपूर्ण प्रतिबद्धता व्यक्त गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय एसएसबीका महानिर्देशक सञ्जय सिङ्घलको संयुक्त नेतृत्वमा उक्त बैठक सम्पन्न भएको हो।

बैठकमा परम्परागत सीमा सुरक्षा प्रणालीलाई प्रविधिमैत्री ‘स्मार्ट सीमा व्यवस्थापन’ मा रूपान्तरण गर्ने विषयमा विस्तृत छलफल भएको छ। सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार सीमाक्षेत्रमा सिसिटिभी जडान गर्ने, प्रमुख नाकाहरूमा लगेज स्क्यानर तथा वाक–थ्रु मेटल डिटेक्टरको प्रयोग बढाउने र ड्रोनमार्फत निगरानी गर्नेलगायतका आधुनिक उपायहरूलाई प्राथमिकता दिइएको छ।

यसका साथै तेस्रो मुलुकका नागरिकको अनधिकृत आवागमन, मानव बेचबिखन, नक्कली नोटको कारोबार र अवैध तस्करी नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायबिचको समन्वयलाई अझ प्रभावकारी बनाइने भएको छ।

दसगजा क्षेत्रमा हुने अनधिकृत खेतीपाती, अतिक्रमण र अवैध संरचनाहरू हटाउन दुवै देशले संयुक्त रूपमा पहल जारी राख्ने सहमतिसमेत बैठकमा भएको छ। सीमास्तम्भहरूको मर्मत-सम्भार र पुनर्निर्माणका लागि बाउन्ड्री वर्किङ ग्रुप (बिडब्लुजी) र सर्भे अफिसियल्स कमिटी (एसओसी) को निर्णयबमोजिम स्थलगत समन्वय बढाइनेछ। साथै, सामाजिक सञ्जालको दुरुपयोगबाट फैलिन सक्ने भ्रामक सूचनाले सुरक्षा र सामाजिक सद्भावमा पार्ने असर न्यूनीकरण गर्न संस्थागत सहकार्य सुदृढ गर्ने विषयमा पनि छलफल गरिएको छ।

सीमा सुरक्षाका साथै बाढीपहिरो तथा भूकम्पजस्ता प्राकृतिक विपत्का समयमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन संयुक्त अभ्यास सञ्चालन गर्ने सहमति पनि जुटेको छ। चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन तालिम शिक्षालयमा ‘ज्वाइन्ट स्विफ्ट वाटर रेस्क्यु एक्सरसाइज’ सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। नियमित अध्ययन भ्रमण र प्रविधि तथा विशेष तालिममा सहकार्य विस्तार गर्दै दुवै देशबिचको सम्बन्धलाई थप सुदृढ बनाउने निर्णयसहित बैठक सम्पन्न भएको छ।

विवरण तथ्य / जानकारी
बैठक नेपाल–भारत सशस्त्र प्रहरीको १० औँ द्विपक्षीय सुरक्षा समन्वय बैठक
स्थान काठमाडौँ
नेतृत्वकर्ताहरू सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र एसएसबी महानिर्देशक सञ्जय सिङ्घल
मुख्य चुनौती खुला सिमानाबाट हुने अवैध आवतजावत, लागुऔषध तस्करी र सीमापार अपराध
प्रमुख सहमति ‘स्मार्ट सीमा व्यवस्थापन’, प्रविधिको प्रयोग, दसगजा अतिक्रमण रोक्ने र संयुक्त विपत् उद्धार अभ्यास